-जनकराज पाठक
नेपाली सेनाको इतिहास आधुनिक नेपालको एकीकरणसँग जोडिएको छ । नेपाली सेनाले आफूलाई नेपालको सार्वभौमसत्ता, स्वतन्त्रता र राष्ट्रिय एकताको रक्षाका साथै विपद् उद्धार तथा मानवीय सेवामा समर्पित राष्ट्रिय संस्थाका रूपमा आफ्नो परिचय दिएको छ । नेपाली सेना र नागरिकबीच विश्वास, कर्तव्य,त्याग र राष्ट्रिय एकताको सम्बन्ध छ । नागरिक सेनाका लागि शक्ति र प्रेरणाको स्रोत हुन्, अनि सेना नागरिकको सुरक्षा र भरोसाको आधार हो ।
प्रजातान्त्रिक व्यवस्थामा सेना नागरिकप्रति उत्तरदायी र संविधानप्रति प्रतिबद्ध रहँदै राष्ट्रिय हितको संरक्षणमा लागि काम गर्छ । नेपालको इतिहासमा नेपाली सेना केवल युद्ध लड्ने सैन्य शक्ति मात्र होइन, राष्ट्रिय एकता, सार्वभौमसत्ता र नागरिक सुरक्षासँग जोडिएको महत्वपूर्ण राष्ट्रिय संस्था पनि हो । सीमा सुरक्षा, विपद् व्यवस्थापन, बाढी–पहिरो तथा भूकम्पमा उद्धार, विकास निर्माण र मानवीय सेवासम्म सेना अझ विशेषगरी प्राकृतिक विपत्तिका बेला नेपाली सेना र नागरिकबीचको सम्बन्ध अझ गहिरो देखिन्छ।
बाढीले बस्ती डुबाउँदा होस् वा पहिरोले बाटो थुन्दा, जोखिम मोलेर उद्धारमा पुग्ने सैनिकहरू नागरिकका लागि आशा र भरोसाको प्रतीक बन्ने गरेका छन् । बाढी, पहिरो, भूकम्प, आगलागी वा अन्य प्राकृतिक विपत्तिमा सेनाले जोखिम मोलेर उद्धार गर्दा नागरिकले आफ्नो दुःखको घडीमा राज्यको उपस्थितिको अनुभूति गर्छन यहि कारण नागरिक र सेना विच विश्वासको सम्बन्ध प्रगाढ रहन्छ ।
संकटमा नागरिकको जीवन जोगाउने र राष्ट्रको स्वाभिमान जोगाउन सेना राष्ट्रिय जीवनको महत्वपूर्ण संस्था हो । जब बाढीको भेलले गाउँ–बस्ती–घर–आँगन बगाउँछ, जब आँखाअगाडि आफन्त र सम्पत्ति गुम्छ त्यो समय शून्यको अवस्था मात्र देखिन्छ र नागरिकको बच्ने आशा कमजोर हुन्छ—त्यहीबेला नेपाली सेनाका जवानहरू नागरिक का जीवन बचाउन मैदानमा उत्रिन्छन्।
आफ्नो ज्यानको परवाह नगरी उर्लिएको नदीमा पस्दै, भिरालो पहाड पार गर्दै, गुफा सुरुङ छिचोल्दै, धाप–हिलोमा आफ्नो जीवनसँग खेल्दै नागरिकको जीवन बचाउन लागि पर्छन् । ज्यानको परवाह नगरी जोखिमपूर्ण ठाउँमा पुग्दै, डुबेका बस्तीबाट नागरिकलाई उद्धार गर्दै, घाइतेलाई काँधमा बोकेर सुरक्षित स्थानतर्फ लैजाँदै उनीहरूले मानवताको सर्वोच्च उदाहरण प्रस्तुत गरिरहेका हुन्छन् । आज बाढीको पीडामा छटपटाइरहेका नेपालीका लागि नेपाली सेनाको वर्दी केवल वर्दी मात्रै होइन,त्यो नागरिकको आशा हो, भरोसा हो र जीवन जोगाउने हात हो । यधपी बाढी तथा विपद्को समयमा नेपाल प्रहरी ÷ सशस्त्र प्रहरी÷ राष्ट्रिय अनुसन्धान विभाग सवैको भूमिका रहन्छ।
नेपाल प्रहरी शान्ति–सुरक्षा कायम गर्ने निकाय त हुदै हो अझ विपद्को समयमा नागरिकको जीवनरक्षाका लागि अग्रपंक्तिमा खटिने महत्वपूर्ण सुरक्षा निकाय पनि हो । अझ विपद्को अवस्थामा हुन सक्ने चोरी, लुटपाट तथा अन्य आपराधिक गतिविधि नियन्त्रण गर्न बाढीको भेलमा होस् वा पहिरोको जोखिममा—नागरिकको जीवन बचाउन आफ्नो ज्यान जोखिममा राखेर खटिने प्रहरीप्रति सम्मान र कृतज्ञता कदापि कम हुनु हुँदैन । आफैं जोखिम मोलेर संकटमा परेका नागरिकको जीवन रक्षा गर्ने विपद्को समयमा सुरक्षाकर्मीको बर्दी केवल शक्तिको प्रतीक होइन, आशा, भरोसा र मानवीय सेवाको प्रतीक पनि हो। आफ्नो ज्यानको पर्वाह नगरी अरूको जीवन बचाउन खटिने सुरक्षाकर्मीप्रति राष्ट्र र नागरिक सधैं कृतज्ञ रहन्छन् । हालै भाद्र १० गतेको बाढीको घटना र सुरक्षा संयन्त्रको गतिलाई अध्ययन गर्दा हामी थप प्रष्ट हुन सक्छौं ।
