अब कांग्रेसको विशेष महाधिवेशनको वैधता विवादको औचित्य समाप्त

-यदुनाथ खनाल

नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट प्रारम्भ भएको सांगठनिक प्रक्रिया नियमित महाधिवेशनको चरणमा प्रवेश गरि केन्द्रीय पदाधिकारी हेरफेरको लगत समेत अद्यावधिक भइसकेको छ । नियमित महाधिवेशनबाट गठित केन्द्रीय कार्यसमितिको नामावली राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५१ बमोजिम निर्वाचन आयोगबाट अद्यावधिक भइसकेको पत्र नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा पठाएको जानकारी हुन आएको छ । यो कुनै अस्थायी वा अनौपचारिक व्यवस्था नभई राजनीतिक दलको सांगठनिक परिवर्तनलाई कानुनी अभिलेखमा अद्यावधिक गर्ने नियमित वैधानिक प्रक्रिया हो । यसरी नयाँ सांगठनिक संरचना स्थापित भइसकेपछि विशेष महाधिवेशन वैध थियो वा अवैध थियो भन्ने विगतको विवादको व्यावहारिक र कानुनी औचित्य स्वतः समाप्त भएको छ।

सर्वोच्च अदालतले विभिन्न विवादमा विवादको आधारभूत परिस्थिति परिवर्तन भई मागदाबीको औचित्य समाप्त भएको अवस्थामा मुद्दा निरूपणको प्रयोजन समाप्त हुने र मुद्दा निष्प्रयोजन हुने सिद्धान्त प्रतिपादन गर्दै आएको छ। प्रस्तुत विवादमा पनि पछिल्लो सांगठनिक तथा कानुनी अवस्थाको सन्दर्भमा यही सिद्धान्त आकर्षित हुन्छ।

विशेष महाधिवेशनको वैधतामाथि उठाइएको विवादलाई निरन्तरता दिनु अब केवल विगतको विवादलाई जीवित राख्ने प्रयास मात्र हुनेछ । जब त्यसबाट उत्पन्न सांगठनिक प्रक्रिया नियमित महाधिवेशन हुँदै निर्वाचन आयोगबाट समेत अध्यावधिक भइसकेको छ भने अदालतमा विचाराधीन विवादको औचित्य र प्रयोजन समेत समाप्त भएको मान्नुपर्ने हुन्छ।

अब नेपाली कांग्रेसले विगतका विवाद, आरोप प्रत्यारोप र गुटगत आग्रहबाट माथि उठेर संगठनको एकता, सुदृढीकरण र भावी राजनीतिक चुनौतीको सामना गर्न सम्पूर्ण शक्ति केन्द्रित गर्नुपर्छ । राजनीतिमा विवादभन्दा सहमति ठूलो हुन्छ, व्यक्तिभन्दा संगठन ठूलो हुन्छ र विगतको विवादमा अल्झिनुभन्दा भविष्यको बाटो निर्माण गर्नु महत्वपूर्ण हुन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *