सुर्खत । दशौँ राष्ट्रिय खेलकुद अन्तर्गत भएको पुरुष फूटबलमा लुम्बिनी प्रदेशले रोमाञ्चक जित निकालेको छ । आइतबार दिउँसो भएको समूह चरणको अन्तिम खेलमा लुम्बिनीले बागमती प्रदेशलाई ५-४ गोलले पराजित गरेको हो ।
सुर्खेत रंगशालामा भएको खेलमा लुम्बिनीलाई जित दिलाउन निशान्त न्यौपानेले दुई तथा विपिन थापा मगर, विकाश राई र हरिहर बुढा मगरले समान एक/एक गोल गरे । बागमतीको लागि रोहण खड्गीले दुई तथा सुरज जिउ ठकुरी र चिना लामाले समान एक/एक गोल गरेपनि जितको लागि पर्याप्त रहेन । खेलको नवौं मिनेटमा सुरजको गोलमा बागमतीले शुरुवाती अग्रता लिएको थियो । ११ औँ मिनेटमा निशान्तले गोल गर्दै लुम्बिनीलाई १-१ गोलको बराबरीमा ल्याए ।
२३ औँ मिनेटमा रोहनले गोल गर्दै बागमतीलाई फेरी २-१ गोलको अग्रता दिलाए । ३६ औँ मिनेटमा विपिनले गोल गर्दै लुम्बिनीलाई २-२ गोलको बराबरीमा ल्याए । ४० औँ मिनेटमा विकासले गोल गर्दै लुम्बिनीलाई ३-२ गोलको अग्रता दिलाए । ६८ औँ मिनेटमा हरिहरले गोल गर्दा लुम्बिनी सहज जिततर्फ अगाडि बढेको थियो ।
८० औँ मिनेटमा चिनाले गोल गर्दै बागमतीलाई ४-३ गोलको स्थितिमा ल्याए । पाँच मिनेटपछि निशान्तले व्यक्तिगत दोस्रो गोल गर्दै लुम्बिनीलाई ५-३ गोलको अग्रता दिलाए । इन्जुरी समयमा रोहन खड्कीले व्यक्तिगत दोस्रो गोल गर्दै बागमतीलाई ५-४ गोलको स्थितिमा ल्याएपनि टोलीको हार टार्न पर्याप्त रहेन ।
दुवै टोली सेमिफाइनल दौडबाट बाहिरिसकेका छन् । सेमिफाइनलमा आर्मीले एपीएफसँग तथा कोशीले पुलिससँग प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताका सेमिफाइनल र फाइनल खेल अब जुम्लामा सञ्चालन हुनेछन् ।
