काठमाडौं । इतिहासमै पहिलोपटक कर्णाली प्रदेशमा आयोजना भइरहेको दशौँ राष्ट्रिय खेलकुदको उद्घाटन समारोह तथा समग्र प्रतियोगिताको सुरक्षा व्यवस्थालाई चुस्त बनाउन सुर्खेतमा निरन्तर विशेष सुरक्षा समन्वय बैठक भइरहेको छ ।
आगामी मङ्सिर १६ गते वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रङ्गशालामा सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहज्यूको उपस्थितिमा प्रतियोगिताको औपचारिक उद्घाटन हुँदैछ।
अति विशिष्ट व्यक्तिको आगमन, खेलाडी तथा अफिसियलको आवास र दर्शकको ठूलो उपस्थितिलाई मध्यनजर गर्दै बैठकले बहुआयामिक सुरक्षा रणनीतिमाथि गहन छलफल गरेको हो ।
बैठकले प्रतियोगिता अवधिभर सबै सुरक्षा निकायबीच निरन्तर समन्वय, द्रुत सूचना आदानप्रदान र परिस्थितिअनुसार संयुक्त रूपमा जनशक्ति परिचालन गर्ने निर्णय गरेको छ ।
सुरक्षा योजनाअन्तर्गत रङ्गशालाको प्रवेश तथा निकास मार्गको व्यवस्थापन, भीड नियन्त्रण, पार्किङ तथा ट्राफिक व्यवस्थापन, खेलस्थलमा सीसीटीभी निगरानी, नियमित गस्ती तथा अति विशिष्ट पाहुनाको एस्कर्टिङलाई उच्च प्राथमिकतामा राखिएको छ ।
मङ्सिर २७ गतेसम्म सञ्चालन हुने यस बृहत् खेलकुद महोत्सवमा सात प्रदेशसहित तीन विभागीय टोली (नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल) र गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) गरी कुल ११ टोलीका खेलाडीहरू सहभागी छन् ।
