एजेन्सी । स्पेनिस लिग ला लिगामा रियल म्याड्रिड पराजित भएको छ । शनिबार राति भएको खेलमा १० खेलाडीमा समेटिएको रियल म्याड्रिड डिपोर्टिभो आल्भेससँग २-१ गोलले पराजित भएको हो ।
इस्टाडियो सान्टियागो बेर्नाबेउमा भएको खेलमा आल्भेसलाई जित दिलाउन टोनी मार्टिनेज र एन्जल पेरेजले समान एक/एक गोल गरे । म्याड्रिडको लागि किलियन एम्बाप्पेले एक गोल फर्काए । खेलको २२ औँ मिनेटमा मार्टिनेजले गोल गर्दै आल्भेसलाई शुरुवाती अग्रता दिलाएका थिए ।
६१ औँ मिनेटमा पेरेजले गोल गर्दै पाहुना टोलीको अग्रता दोब्बर बनाए । ६९ औँ मिनेटमा एम्बाप्पेले गोल गर्दै म्याड्रिडलाई खेलमा फर्काउने प्रयास गरेका थिए । ८८ औँ मिनेटमा जुड बेल्लिन्घाम रातो कार्ड पाउँदै मैदान बाहिरिएपछि म्याड्रिड १० खेलाडीमा समेटिएको थियो ।
बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसक्दा आल्भेस २-१ गोलले विजयी भएको हो । जितसँगै १४ खेलबाट १९ अंक जोडेको आल्भेस आठौँ स्थानमा उक्लिएको छ भने समान खेलबाट ३३ अंक जोडेको म्याड्रिड लिगको तेस्रो स्थानमा रहेको छ ।
