आइसेनकोटलाई प्रधानमन्त्री बनाउने प्रस्तावसहित सरकार गठनका लागि नेतन्याहुको प्रस्ताव

बीबीसी । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले विपक्षी नेता गादी आइसेनकोटलाई पहिले प्रधानमन्त्री बन्न दिने प्रस्तावसहित राष्ट्रिय एकता सरकार गठन गर्न सहमति जनाएका छन् ।

शनिबार सामाजिक सञ्जालमार्फत नेतन्याहुले सबैभन्दा ठूलो दलको नेता नै पहिले प्रधानमन्त्री बन्नुपर्ने सिद्धान्तसमेत त्याग्न तयार रहेको बताएका छन् । प्रस्तावित एकता सरकारमा आफू सुरुमा वैकल्पिक प्रधानमन्त्रीको भूमिकामा रहने उनले उल्लेख गरेका छन् ।

इजरायलका राष्ट्रपति इसाक हर्जोगले यसै महिनाको सुरुवातमा २८ दिनभित्र सरकार गठन गर्ने जिम्मेवारी दिएका आइसेनकोटले नेतन्याहुको प्रस्तावप्रति तत्काल प्रतिक्रिया जनाउँदै वास्तविक र तीव्र वार्ता अघि बढाउन आह्वान गरेका छन् ।

आइसेनकोटले शुक्रबार नेतन्याहुको दक्षिणपन्थी लिकुड पार्टीले गठबन्धन वार्ता लम्ब्याइरहेको आरोप लगाएका थिए । सरकार गठनका लागि तोकिएको डिसेम्बर ६ को समयसीमा नजिकिँदै गर्दा नेतन्याहुको प्रस्ताव आएको हो ।

अक्टोबरमा भएको निर्वाचनमा आइसेनकोटको मध्यमार्गी याशर पार्टीसहित अन्य तीन यहुदी विपक्षी दलले ४८ सिट जितेका थिए । नेतन्याहुको गठबन्धनले ५३ सिट प्राप्त गरेको थियो । १२० सदस्यीय संसद् (नेसेट)मा सरकार गठनका लागि आवश्यक बहुमत दुवै पक्षसँग छैन ।

निर्वाचनपछि एक सातासम्म सबै दलसँग परामर्श गरेपछि राष्ट्रपति हर्जोगले आइसेनकोटलाई पहिलो पटक सरकार गठनको अवसर दिएका थिए ।

अरब नेतृत्वका युनाइटेड अरब लिस्ट र जोइन्ट लिस्टले संयुक्त रूपमा १९ सिट जितेका छन् । अरब मतदाताको सहभागिता बढेसँगै उनीहरूले अहिलेसम्मकै उल्लेखनीय सिट संख्या प्राप्त गरेका हुन् । उनीहरू सरकार गठनमा निर्णायक बन्न सक्ने भए पनि अधिकांश यहुदी दलले निर्वाचनअघि अरब दलसँग गठबन्धन नगर्ने प्रतिबद्धता जनाएका थिए ।

आइसेनकोटले सरकार गठनका लागि आवश्यक बहुमत जुटाउने प्रयासमा यिस्राएल बेइतेनु र द डेमोक्रेट्स पार्टीसँग गठबन्धन सम्झौता गरिसकेका छन् ।

उनको गठबन्धनको चौथो दल बेयाचादका नेता तथा पूर्वप्रधानमन्त्री नफ्ताली बेनेटले बिहीबार लिकुड सहभागी हुने एकता सरकार र आइसेनकोट पहिले प्रधानमन्त्री बन्ने प्रस्तावको समर्थन गरेका थिए ।नेतन्याहुको प्रस्तावपछि बेनेटले लिकुड आइसेनकोट नेतृत्वको एकता सरकारमा सहभागी हुन तयार हुनु सही निर्णय भएको प्रतिक्रिया दिएका छन् ।

नेतन्याहुले अस्तित्वमाथिको ठूलो खतरा र त्यसको सामना गर्न असक्षम सरकार बन्न सक्ने सम्भावनालाई ध्यानमा राखेर एकता सरकारको प्रस्ताव गरेको बताएका छन् ।

‘यदि लिकुड वास्तविक एकताका लागि तयार छ भने आगामी २४ घण्टामा उनीहरूको प्रतिबद्धता कति गम्भीर छ भन्ने मूल्यांकन गर्न म तयार छु,’ आइसेनकोटले प्रतिक्रिया दिएका छन् ।

याशरका नेताले नेतन्याहुलाई गत आइतबार पठाइएको विस्तृत प्रस्तावका आधारमा वार्ता अघि बढ्ने बताएका छन् । उनले अहिलेसम्म उक्त प्रस्तावको कुनै जवाफ नआएको पनि बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *