बेइजिङ । चीनको राजनीतिक नेतृत्वमा उदाउँदो नेताका रूपमा हेरिएका साङ्घाईका पार्टी प्रमुख चेन जिनिङ राष्ट्रपति सी चिनफिङको व्यापक शुद्धीकरण अभियानको पछिल्लो निशानामा परेको देखिएका छन् ।
चिनियाँ सरकारी समाचार संस्था सिन्ह्वाले मंगलबार चेनमाथि पार्टी अनुशासन र कानुनको गम्भीर उल्लंघन गरेको आशंकामा अनुशासनात्मक समीक्षा तथा निगरानी अनुसन्धान भइरहेको जनाएको थियो । चीनमा भ्रष्टाचार तथा पार्टी अनुशासन उल्लंघनका आरोपमा उच्च अधिकारीमाथि अनुसन्धान सुरु भएको घोषणा गर्न यस्तै भाषा प्रयोग गरिन्छ ।
चेनले यस विषयमा सार्वजनिक प्रतिक्रिया दिएका छैनन् । यस्ता अनुसन्धानसम्बन्धी सार्वजनिक घोषणाले चीनमा प्रायः सम्बन्धित अधिकारीको राजनीतिक करिअर अन्त्य हुने संकेत गर्ने गर्छ ।
६२ वर्षीय चेन दुई वर्षभन्दा कम अवधिमा कारबाहीको निशानामा परेका चौथो पोलिटब्युरो सदस्य हुन् । सी चिनफिङले आफ्नो शक्ति थप सुदृढ बनाउँदै जाँदा चीनको सैन्य नेतृत्वसहित उच्च तहका अधिकारीहरू पनि अभियानको दायरामा परेका छन् ।
चेनको अचानक पतनले चीनको राजनीतिक नेतृत्व र विश्लेषकहरूलाई आश्चर्यमा पारेको छ । उनको राजनीतिक पृष्ठभूमि र करिअरको प्रगतिले उनलाई अझ उच्च पदमा पुग्ने सम्भावना भएका नेताका रूपमा चित्रित गरेको थियो ।
कार्नेगी चाइना थिंक ट्यांकका सिङ्गापुरस्थित निर्देशक डेमियन माले एनबीसी न्युजसँग कुरा गर्दै चेन पोलिटब्युरोको स्थायी समितिसम्म पुग्न सक्ने सम्भावना भएका नेता रहेको बताएका छन् । पश्चिमी विश्लेषकहरूले पनि उनको राजनीतिक भविष्य उज्ज्वल देखेका थिए ।
चेन वातावरणीय वैज्ञानिक हुन् । उनले लन्डनमा अध्ययन गरेका थिए । त्यसपछि चीनको राजनीतिक प्रशासनमा तीव्र रूपमा अघि बढ्दै वातावरण मन्त्री, बेइजिङका मेयर र साङ्घाईको पार्टी प्रमुखको जिम्मेवारी सम्हालेका थिए । साङ्घाईको पार्टी प्रमुख पदलाई चीनको उच्च राजनीतिक नेतृत्वतर्फ जाने महत्त्वपूर्ण खुड्किलो मानिन्छ । सी चिनफिङले पनि विगतमा यही पद सम्हालेका थिए ।
चेन विदेशी व्यवसायप्रति अनुकूल दृष्टिकोण राख्ने र कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको प्रवद्र्धनमा जोड दिने नेताका रूपमा परिचित थिए । गत महिना उनले एप्पलका अध्यक्ष टिम कुकलाई साङ्घाईमा स्वागत गर्दै सहरका आर्थिक तथा व्यावसायिक सम्भावनाको उपयोग गर्न कम्पनीलाई आग्रह गरेका थिए ।
उनको पछिल्लो सार्वजनिक उपस्थितिमा गत साता एक बन्दरगाह तथा ढुवानी सुविधाको निरीक्षणका क्रममा उद्योगको डिजिटल रूपान्तरणलाई अघि बढाउनुपर्ने बताएका थिए ।
तर बुधबारसम्म साङ्घाई सरकारका केही आधिकारिक वेबसाइटबाट चेनको नाम र विवरण हटाउन थालिएको थियो । टिम कुकसँगको भेटसम्बन्धी साङ्घाई सरकारको वेबसाइटमा रहेको पृष्ठसमेत उपलब्ध हुन छाडेको थियो ।
चेन सी चिनफिङको लामो समयदेखि जारी भ्रष्टाचारविरोधी अभियान र पार्टी अनुशासनलाई कडा बनाउने नीतिको पछिल्लो उदाहरण बनेका छन् । विश्लेषकहरूका अनुसार यो अभियान भ्रष्टाचार नियन्त्रणमा मात्र सीमित नभई नेतृत्वप्रति निष्ठा कायम गराउने रणनीतिसँग पनि जोडिएको छ ।
लन्डनस्थित क्इब्क् चाइना इन्स्टिच्युटका निर्देशक स्टिभ साङले चेनलाई सीको उत्तराधिकारीका रूपमा नभए पनि अझ माथिल्लो पदमा पुग्न सक्ने नेता मानिएको बताएका छन् ।
उनका अनुसार चेनमाथिको कारबाहीले चीनका प्राविधिक पृष्ठभूमि भएका उच्च अधिकारीहरूलाई समेत स्पष्ट सन्देश दिएको छ— पार्टी अनुशासन पालना र सीप्रति निर्विवाद निष्ठा प्रदर्शन गर्नुपर्नेछ, अन्यथा कारबाहीको जोखिम रहन्छ ।
