काङ्ग्रेसको पुरानो सामाजिक कार्यशैली फर्काउने प्रयास: देशभरका पालिकामा ‘एनसी फर एनसी’ अभियान सञ्चालन हुने

काठमाडौँ । नेपाली काङ्ग्रेसले पार्टीको स्थापनाकालीन सामाजिक कार्यशैलीलाई पुनर्जीवित गर्दै स्थानीय तहमा पार्टीको उपस्थिति र योगदानलाई स्थापित गर्न ‘एनसी फर एनसी’ (राष्ट्रिय मामिलामा नेपाली काङ्ग्रेस) अभियान सञ्चालन गर्ने भएको छ ।

पार्टी सभापति गगनकुमार थापाले काङ्ग्रेस केवल राजनीतिक गतिविधिमा मात्र सीमित नरही सामाजिक रूपान्तरणको संवाहक पनि भएकाले अब हुने हरेक सार्वजनिक तथा सामाजिक काममा पार्टीको पहिचानसमेत जोडिनुपर्ने बताए ।

पार्टी स्थापनाका बेला बीपी कोइरालाले निश्चित समय सामाजिक काम गर्ने व्यक्तिलाई मात्र काङ्ग्रेसको सदस्यता दिने व्यवस्था बनाएको ऐतिहासिक सन्दर्भ स्मरण गर्दै सभापति थापाले त्यही पुरानो कार्यशैली फर्काउने प्रयास थालिएको स्पष्ट पारे ।

हाल पनि देशभर काङ्ग्रेसका नेता तथा कार्यकर्ताहरू थुप्रै सामाजिक काममा क्रियाशील रहे तापनि ती कामको पार्टीगत स्वामित्व लिन नसकिएको उनको भनाइ छ। ‘अब जे काम गर्दा पनि ’काङ्ग्रेस’ भनेर सामाजिक काम गरौँ,’ थापाले नेता–कार्यकर्तालाई निर्देशन दिँदै भने ।

अभियानअन्तर्गत आगामी पुस, माघ, फागुन र चैत गरी चार महिनाको अवधिमा देशका सबै स्थानीय तहमा कम्तीमा एउटा ठोस सामाजिक कार्यक्रमको योजना बनाई कार्यान्वयनमा लगिनेछ। स्थानीय आवश्यकता र भौगोलिक अवस्थाअनुसार विद्यालयको कक्षाकोठा निर्माण, विपन्न नागरिकका लागि आवास निर्माण, खानेपानी आयोजना, सांस्कृतिक सम्पदा संरक्षण, सीपमूलक तालिम, क्षमता विकास, कृषि प्रवद्र्धन, वातावरण संरक्षण तथा युवा केन्द्रित रोजगारी सिर्जनालगायतका परियोजना छनोट गर्न सकिनेछ।

स्थानीय तहमा छनोट गरिने परियोजनाका लागि आवश्यक पर्ने स्रोत र साधनको व्यवस्था केन्द्रीय कार्यालयले गरिदिने सभापति थापाले प्रतिबद्धता जनाएका छन् ।

‘तपाईँहरू आँट्नुहोस् मात्र, आवश्यक स्रोत–साधन हामी जुटाउँछौँ,’ उनले भने । छनोट गरिएका अभियानका विषयमा पुसको अन्तिम सातासम्म केन्द्रीय कार्यसमितिलाई लिखित जानकारी गराउनुपर्नेछ भने आवश्यकताअनुसार ती परियोजना चार महिना, छ महिना वा एक वर्षसम्म निरन्तर सञ्चालन गर्न सकिनेछ।

‘एनसी फर एनसी’ अभियानलाई व्यवस्थित र परिणाममुखी बनाउन केन्द्रमा छुट्टै सचिवालय स्थापना गरिने भएको छ। उक्त सचिवालयले देशभर सञ्चालन भएका अभियान र सम्पन्न कामको विवरण संकलन गरी सभापतिलाई बुझाउनेछ। चार महिनापछि अभियानको विस्तृत समीक्षा गरिने जानकारी दिँदै सभापति थापाले त्यसबेला आफू खटिएको पालिकामा कुन परियोजना चलिरहेको छ भन्ने विवरण पेस गर्नुपर्ने र सोही कामको नतिजाका आधारमा नेता–कार्यकर्ताको सांगठनिक मूल्याङ्कन हुनेसमेत स्पष्ट पारेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *