-भीष्मराज आङ्देम्बे ।
सुनकोशी–मरिण डाइभर्सन आयोजनाका कर्मचारीलाई अपहरण शैलीमा नियन्त्रणमा लिने, प्रधानमन्त्री कार्यालयलाई यातनागृह बनाएर मानसिक यातना दिने र बिना पर्याप्त कानुनी आधार ठेक्का रद्द गर्ने सरकारको कार्यशैलीविरुद्ध प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको आह्वानमा गत १७ कात्तिकमा प्रतिपक्षी दलहरूको संयुक्त बैठक बसेको थियो। हामीले संसद् र संसदीय समितिमा छलफलको माग गरेका थियौँ ।
सोहीअनुसार मंगलबार प्रतिनिधिसभाको सार्वजनिक लेखा समिति बैठक बस्यो । बैठकमा सत्तापक्ष र प्रतिपक्षका माननीय सांसदहरूले सरकारको कार्यशैली, सार्वजनिक खरिद ऐनको उल्लङ्घन र राज्यशक्तिको दुरुपयोगबारे प्रश्न उठाउनुभयो। समितिले सात दिनभित्र आवश्यक कागजात उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ।
सुनकोशी–मरिण डाइभर्सनको ठेक्कामा छवटा कम्पनीले बोलपत्र पेस गरेका थिए। तीनवटा प्राविधिक मूल्याङ्कनमा उत्तीर्ण भएका थिए। आर्थिक प्रस्ताव खोल्ने तयारी भइरहेका बेला कर्मचारीलाई नियन्त्रणमा लिएर प्रधानमन्त्री कार्यालयमा मानसिक दबाब दिइयो र ठेक्का रद्द गरियो।
यो आयोजना मधेसका पाँच जिल्लाका करिब १ लाख ८० हजार बिघा जमिनमा सिँचाइ पुर्याउने र २८ मेगावाट विद्युत् उत्पादन गर्ने राष्ट्रिय गौरवको आयोजना हो। १३.३ किलोमिटर सुरुङको ब्रेक थ्रु भइसकेको छ। यस्तो आयोजना सरकारको मनपरी र प्रशासनिक हस्तक्षेपको सिकार बन्नु दुर्भाग्यपूर्ण छ। भोलि मधेसका जनता सडकमा उत्रिए त्यसको जिम्मेवारी कसले लिने ?
म प्रधानमन्त्रीजीलाई सोध्न चाहन्छु– प्रधानमन्त्री कार्यालय राज्य सञ्चालन गर्ने निकाय हो कि कर्मचारीलाई थुनेर मानसिक यातना दिने यातनागृह ? कर्मचारीलाई नियन्त्रणमा लिएर निर्णय गराउन कसले निर्देशन दियो? ठेक्का रद्द गर्ने कानुनी आधार के हो? राज्यलाई हुने आर्थिक क्षतिको जिम्मेवारी कसले लिने ?’
ठेक्का रद्द गर्ने अधिकार सरकारसँग होला, तर कानुन कुल्चिने अधिकार छैन। यस घटनामा प्रधानमन्त्री कार्यालयको भूमिका र निर्णय प्रक्रियाबारे स्वतन्त्र तथा निष्पक्ष छानबिन हुनुपर्छ । मधेसको विकासलाई राजनीतिक प्रतिशोधको बन्धक बनाउन पाइँदैन। जनताको भविष्यसँग खेलवाड गरेर सरकार जवाफदेहिताबाट भाग्न सक्दैन।
