काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री गुरुराज घिमिरेले पार्टी इतिहासको महत्वपूर्ण मोडमा रहेको भन्दै व्यक्तिगत आरोप–प्रत्यारोप र गुटगत हिसाबकिताबभन्दा माथि उठेर भविष्यको दिशाबारे गम्भीर बहस गर्न आग्रह गरेका छन् ।
घिमिरेले पार्टीभित्र नेतृत्व परिवर्तन, पुस्तान्तरण र रूपान्तरणका आवाजलाई पूर्वाग्रहका आधारमा नभई तिनको औचित्य र आवश्यकताका आधारमा बुझ्नुपर्ने बताएका छन् ।
उनले पार्टीभित्र एकअर्कालाई दोषारोपण गर्ने तथा व्यक्तिगत प्रतिष्ठाको लडाइँमा अल्झिने समय नभएको उल्लेख गर्दै सबैले आफ्ना कमजोरीको आत्मसमीक्षा गर्न, गल्ती स्वीकार गर्न र संवादमार्फत विश्वासको वातावरण निर्माण गर्नुपर्नेमा जोड दिएका छन् ।
विमति र विचारको भिन्नता स्वाभाविक भए पनि त्यसले आपसी सम्बन्ध तथा संगठनात्मक एकतालाई कमजोर बनाउन नहुने घिमिरेको भनाइ छ ।उनले परिवर्तनको चाहनालाई अस्वीकार गर्नुको सट्टा विधि, विधान र लोकतान्त्रिक प्रक्रियाभित्र सम्बोधन गरेर पार्टीलाई नयाँ दिशा दिनुपर्ने बताएका छन् ।
‘आखिर प्रश्न कुनै एउटा व्यक्ति, समूह वा गुटको प्रतिष्ठाको होइन, नेपाली कांग्रेसको भविष्य र देशको लोकतान्त्रिक यात्राको हो,’ घिमिरेले लेखेका छन् । व्यक्तिगत आग्रह र पूर्वाग्रहभन्दा माथि उठेर नयाँ सोच, नयाँ ऊर्जा र रूपान्तरणको संकल्पसहित अघि बढ्न उनले पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् ।
घिमिरेले संस्थागत सर्वोपरिता र विधिको निष्ठापूर्ण अभ्यासलाई पार्टीका सबैको दायित्व, कर्म र धर्म भएको पनि उल्लेख गरेका छन् ।
