चितवन । चितवनको भरतपुरमा रहेको दियालो बङ्गला आइतबारबाट सबैका लागि खुला गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले बङ्गला सबै नागरिकले अवलोकन गर्ने गरी उद्घाटन गरेका हुन् ।
नेपाल ट्रष्टको मातहतमा रहेको बङ्गला भरतपुर महानगरपालिकाको आग्रहमा खुला गरिएको हो । मन्त्री तामाङले इतिहास जोडिएको बङ्गला सबैका लागि खुला गरिएसँगै शासन व्यवस्थाको अध्ययन गर्न र अवलोकन गर्न चाहने जो कोहीका लागि महत्वपूर्ण हुने बताए ।
उनले भरतपुर भ्रमण वर्ष सन् २०२४ लाई सफल बनाउन यस कार्यले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । ‘भरतपुर विमानस्थल विस्तारसँगै रात्रिकालीन उडान हुने र भाडादर घट्ने हुँदा यहाँ आउने पर्यटकको सङ्ख्या बढ्ने विश्वास छ । नेपाल ट्रष्टको स्वामित्वमा रहेको बङ्गला भरतपुर महानगरले सञ्चालन र व्यवस्थापन गर्ने गरी जिम्मा दिइएको छ, यसले पनि पर्यटकको सङ्ख्या वृद्धिमा योगदान गर्नेछ’, मन्त्री तामाङले भने । ट्रष्टले पूर्वराजपरिवारको सम्पत्तिको अध्ययन, अवलोकन एवं आवश्यकताअनुसार प्रयोग गर्दै आएको उनले बताए ।
महानगर प्रमुख रेनु दाहालले भरतपुर भ्रमण वर्षको अवसर पारी ट्रष्टसँगको सहमतिमा महानगरपालिकाले बङ्गला सबैका लागि खुला गरिएको बताइन् ।
अब कार्यविधि बनाएर सञ्चालन बङ्गलालाई व्यवस्थित गर्ने भन्दै महानगर प्रमुख दाहालले कार्यविधि नबनुन्जेल अवलोकन निःशुल्क गरिने बताइन् । भरतपुर महानगरपालिकाभित्र रहेका सातवटा मुख्य गन्तव्य रहे पनि अन्य गन्तव्यको खोजी गर्ने क्रममा दियालो बङ्गला सञ्चालनमा ल्याउन सकिएको उनको भनाइ छ ।
उठेको राजस्वको ६० प्रतिशत नेपाल ट्रष्ट र ४० प्रतिशत भरतपुर महानगरपालिकाले पाउने गरी महानगरपालिका र ट्रष्टबीचमा सञ्चालनसम्बन्धी सम्झौता भइसकेको थियो । ट्रष्टले ट्रष्टले ९२ लाखमा मर्मत सम्भार गरी महानगरलाई जिम्मा दिएको हो ।
भरतपुर महानगरपालिका–१ मा रहेको बङ्गलामा तत्कालीन राजपरिवारले जाडोयाममा धेरै समय बिताउने गरेका थिए । ऐतिहासिक महत्व बोकेको दरबारभित्र पहिलो तलामा ठूलो बैठक कक्ष छ, जसको भित्तामा पूर्वराजारानी महेन्द्र र वीरेन्द्रको तस्बिर छ । भर्याङमा विसं २०२६ मा राजा महेन्द्रले शिकार गरेको घडियाल गोही सजाएर राखिएको छ । भित्तामा बाघको टाउँको जस्ताको तस्तै अवस्थामा छ ।
