आधा किलो सुनसहित त्रिभुवन विमानस्थलबाट चिनियाँ नागरिक पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आधा किलो भन्दाबढी अर्धठोस सुनसहित एक चिनियाँ नागरिक पक्राउ परेका छन् ।
विमानस्थल सुरक्षा कार्यालयका अनुसार पक्राउ पर्नेमा चीनको ग्वाङडोङका ४२ वर्षीय झान गुओछिङ रहेका छन् ।

हङकङबाट क्याथे प्यासिफिक एयरमार्फत कात्तिक २९ गते बिहान करिब १०ः३० बजे काठमाडौं आएका उनलाई शंकास्पद गतिविधिका आधारमा जाँच गर्ने क्रममा सुनसहित पक्राउ गरिएको हो ।

प्रहरीका अनुसार उनले लगाएको भित्री वस्त्रभित्र प्लास्टिकमा बेरेर लुकाइएको अवस्थामा दुई थान पहेँलो अर्धठोस पदार्थ बरामद गरिएको थियो । उक्त पदार्थको तौल ६३५.९६ ग्राम रहेको छ ।

भन्सार छली अवैध रूपमा लैजान खोजेको अवस्थामा पदार्थ बरामद गरी चिनियाँ नागरिकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका उनीमाथि आवश्यक अनुसन्धान भइरहेको विमानस्थल सुरक्षा कार्यालयले जानकारी दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *