बर्डफ्लु पुष्टि भएपछि भारतको तमिलनाडुमा निगरानी बढाइयो

नयाँदिल्ली । भारतको दक्षिणी राज्य तमिलनाडुका कुखुरा फार्ममा एच–५ एन–१ भाइरसको संक्रमण पुष्टि भएपछि अधिकारीहरूले बर्ड फ्लु नियन्त्रण तथा निगरानीका उपाय तीव्र पारेका छन्।

राज्यको राजधानी चेन्नईबाट करिब २१० किलोमिटर दक्षिणमा पर्ने कुड्डालोर जिल्लाका कुखुरा फार्मबाट सङ्कलित नमुनाको परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो।

स्थानीय सरकारका एक वरिष्ठ अधिकारीका अनुसार, परीक्षणको नतिजा आएलगत्तै संक्रमण नियन्त्रणका लागि व्यापक अभियान सुरु गरिएको छ । यसअन्तर्गत पशुपालन तथा पशु चिकित्सा सेवा विभागले प्रभावित फार्म र संक्रमणको केन्द्रबिन्दुबाट एक किलोमिटरको परिधिभित्र रहेका सबै पन्छी नष्ट गरेको छ।

ती अधिकारीले प्रभावित क्षेत्रमा तीन महिनासम्म ब्रोइलर कुखुरा पालन गर्न अस्थायी प्रतिबन्ध लगाइएको पनि जानकारी दिए। चेन्नईस्थित भान्दालुर चिडियाखानाका केही पन्छीमा संक्रमण देखिएपछि उक्त चिडियाखाना बन्द गरिएको केही सातापछि तमिलनाडुमा पुनः संक्रमण पुष्टि भएको हो।

समाचारमाध्यमका अनुसार भारतमा अण्डा उत्पादनको प्रमुख केन्द्र मानिने नामाक्कल जिल्लामा पनि अधिकारीहरूले निगरानी बढाएका छन्।बर्ड फ्लु इन्फ्लुएन्जा भाइरसका कारण पन्छीमा लाग्ने अत्यधिक सङ्क्रामक तथा गम्भीर श्वासप्रश्वाससम्बन्धी रोग हो । यसले कहिलेकाहीँ मानिसलाई पनि सङ्क्रमित गर्न सक्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *