USAID

वेथितिको राजनीतिका कारण मुलुक संकटमा


दुर्गाप्रसाद गौतम।
विश्वका हरेक राष्ट्रहरु राजनीतिबाटै डोरिरहेका हुन्छन् । राष्ट्रमा उत्पादनको भूमिकादेखि बृद्धिको अवस्थासम्म प्रत्यक्षवा परोक्ष रुपमा राजनीतिद्वारा प्रभावित तथा निर्देशित हुने गर्दछ । अझ विश्वमा योजनावद्ध विकासको अभ्यास पश्चात राजनीति नै मुलुकमा हुने वा गरिने हरेक क्रियाकलाप तथा गतिविधिको निर्णायक आधार बन्न पुगेको छ । त्यसैले कुनैपनि राष्ट्रको समग्र अवस्था अथवा व्यवस्था के कस्तो हुने भन्ने कुराको निक्र्यौल उक्त मुलुकमा विद्यमान राजनैतिक व्यवस्था तथा गतिविधिको अवस्था के कस्तो छ भन्ने जस्ता कुराहरुद्वारा निर्धारित हुने गर्दछ । राष्ट्रलाई समृद्धशाली बनाउने कि अधोगतितिर धकेल्ने ? प्रगतिपथमा अग्रगमनतर्फ लग्ने कि भ्रष्टाचारमा चुर्लुम्म डुबाउने ? कस्तो किसिमको राजनीतिक व्यवहारको अभ्यास गर्ने गराउने ? यस्ता अभ्यासहरुमा कस्ता खालका प्रक्रियाहरुलाई समावेश गरी मुलुकको परिपाटी र व्यवस्थालाई कतातिर निर्देशित गर्ने ? भन्ने जस्ता कुराहरुको निक्र्यौल राजनैतिक व्यवस्था र नेतृत्वले नै गर्ने हो । त्यसैले कुनै पनि मुलुक विकासको जग तथा मुलुक अधोगतितर्फ लाग्दा हुने अधोगतिको दुबै श्रेय विद्यमान नेतृत्वले लिनुपर्ने हुन्छ ।

विकासोन्मुख तथा अतिकमविकसित मुलुकहरुको सन्दर्भमा मानवीय आधारभूत आवश्यकताहरुसमेत परिपूर्ति नभई जनसंख्याको ठूलो हिस्सा गरिवी तथा भोकमरीको दुष्चक्रमा फसेको अवस्था छ । यस्ता मुलुकहरुमा जनताको जीवनस्तर ज्यादै कष्टकर हुनुका साथै जनसंख्याको ठूलो हिस्साको पहुँच शिक्षा तथा स्वास्थ्य जस्ता जीवनका नैसर्गिक अधिकारहरुमा समेत छैन ।

यसकाकारण यस्ता मुलुकका राजनीतिक नेतृत्वहरुले अशिक्षित, सोझासाझा जनतालाई अनेक प्रकारका प्रलोभन तथा पूरा गर्न नसकिने खालका सपनाहरु बाँडेर जनतालाई केबल सत्तामा पुग्ने भर्याङका रुपमा मात्र प्रयोग गर्ने गर्दछन् । सत्तामा पुगिसकेपछि तिनीहरु जनचाहनाको पूर्तिमा भन्दा आफू र आफ्नो सीमित घेराको स्वार्थ पूर्तिमा लिप्त हुँदा यसले राज्यका धेरै निकायहरुको विभिन्न खालका गैरकानूनी तथा कानुनद्वारा बर्जित गतिविधिहरुसमेत हुने र यसले कुरिती तथा भ्रष्टाचारलाई मौलाउन मलजल गर्दछ ।

राजनीतिको भ्रष्टीकरणबाट मुलुक खोक्रो र निर्बल हुँदै जाने हुँदा राजनीतिको भ्रष्टीकरण रोक्नु आजको प्रमुख आवश्यकता हो । राजनीतिको भ्रष्टीकरणका कारण नै मुलुकमा विभिन्न खाले संकटहरु सृजना हुन्छन् । मुलुकका विभिन्न क्षेत्रहरुमा विभिन्न प्रकारका विचालनको प्रमुख कारण नै राजनैतिक हस्तक्षेप र चासोको बृद्धि हो । राजनीतिमा पारदर्शिता, स्वच्छन्दता, इमान्दारिता, दायित्वबोध र कर्तव्यपरायणता जस्ता कुराहरु हराउँदै गएपछि राजनीति विकृत हुन्छ नै । यसले नेतृत्वको मती भ्रष्ट गर्दछ । जसकाकारण नेतृत्वले जनमतको अपव्याख्या गर्दै यसको गलत प्रयोग गर्दछ । यसको परिणामस्वरुप राज्यका सरकारी तथा गैरसरकारी क्षेत्रमा विसंगती तथा कुरितीले स्थान प्राप्त गर्ने मौका हासिल गर्दछ । निजी स्वार्थलाई नै राष्ट्रिय स्वार्थदेखि व्याख्या गर्ने कलुसित मानसिकताबाट ग्रसित नेतृत्वलाई साथ र सहयोग गर्ने भ्रष्टहरुको हुल तथा घेराबन्दीलाई तोड्न नसकेसम्म मुलुकालाई सही दिशातर्फ डोर्याउन गरिने कुनै पनि प्रयत्नले सार्थकता प्राप्त गर्न सक्दैन ।

नेपाली राजनीति वृत्तको वर्तमान अवस्थालाई सुक्ष्म विश्लेषण गर्ने हो भने नेपाली अर्थ व्यवस्थामा पछिल्लो समय चुलिँदै गएको विभिन्न संकटहरु तथा अनियमितता तथा भ्रष्टाचारको मूलकारक तत्व नै विद्यमान वेथितिको राजनीति हो भन्ने सन्दर्भलाई थप व्याख्या गरिरहनु पर्दैन । पछिल्लो समय नेपाली अर्थव्यवस्थामा प्रशासनिक न्याययिक, प्राविधिक, औधोगिक तथा अन्य सबै महत्वपूर्ण क्षेत्रमा बढ्दै गएको राजनीतिक हस्तक्षेप र बृद्धि हुँदै गएको बाँडीचुँडी गर्ने प्रवृत्तिले दलगत स्वार्थ भन्दा बाहिरको स्थान र सक्षम व्यक्तिहरु एकातर्फ उपेक्षित हुँदै जाने अवस्थाको बृद्धि भएको छ । भने अर्कोतर्फ सक्षम र आशालाग्दा दलिय स्वार्थ भन्दाबाहिरको ठूलो क्षमतावान व्यक्तिहरु पलायन हुने क्रम बृद्धि हुँदै गएको छ ।

यसले एकातर्फ राज्य विकासको आवश्यक जनाधार नै गुम्ने खतरा छ भने अर्कोतर्फ असक्षम, चाप्लुसी, नातागोता र सीमित असक्षम समूह वा व्यक्तिको घेरा मुलुकको मुख्यशक्तिका रुपमा स्थापित भैरहने अवस्थाको सृजना हुने खतरा बढ्यो । यसो हुँदा नै विभिन्न विसंगती, कुरीति तथा भ्रष्टाचार वेथिति बढेको हो भन्ने कुरा तर्फ आमजनताको ध्यानजानु जरुरी छ । दलीय व्यवस्थामा दलको विकल्प दल नै हुने कारणले गर्दा दलहरुमा सम्बन्धित हुने नेता कार्यकर्ता शुद्ध भावना भएका इमान्दार र स्वच्छ छबि भएका नहुँदासम्म राजनीतिमा शुद्धिकरणको आशा राख्न सकिदैन ।

राजनीतिमा शुद्धता नभएसम्म नेतृत्वमाअवलता, दक्षता, पारदर्शिता, कर्तव्यपरायणता तथा निष्पक्षता जस्ता कुरा गौण हुने र नातावाद, कृपावाद, आफन्तवाद, फरियावाद, चाकडी, चाप्लुसीवादआदिले प्रधान स्थान प्राप्त गर्दछ । यहीकारण राजनीति व्यक्ति केन्द्रित तथा नेतृत्व व्यक्ति तथा आत्मकेन्द्रित भइ भ्रष्टाचार केन्द्रित विसंगती, कालोबजारी, मूल्यवृद्धि, बेरोजगारी आदि कुराहरुमा बृद्धि हुनगई मुलुकमा नै द्वन्द्व, कलह, झगडा तथाआन्तरिक कलह र अशान्ति बृद्धि भई मुलुक संकग्रस्त बन्न पुग्छ ।

नेपाली समाजको पछिल्लो राजनीतिक वृत्तचित्रमा देखापरेका दृष्यतथा परिदृष्यले मुलुक फेरि अनन्तकालिन संकटको भूमरीमा धकेलिने हो कि भन्ने पटाक्ष गरिरहेका छन् । अतः बेलैमा नेपाली जनताले समग्र अर्थतन्त्रको विद्यमान वेथितिको मूलजड वेथितियुक्त राजनीति हो भन्ने कुरा पहिचान गरी विद्यमान वेथितिका मुख्य नाइके दलहरु र तिनीहरुका मुख्य दोषी नेतृत्वलाई दण्डित गर्ने फैसला निर्वाचनमार्फत गर्नसके मात्र मुलुकलाई सही दिशा सही राजनीति र सही नेतृत्वका साथ अगाडि बढाई राष्ट्रलाई वर्तमान वेथितिपूर्ण राजनीतिबाट मुक्त गर्दै सवल राष्ट्र निर्माण गर्न सकिन्छ ।
लेखक आर्य स्कूल सीतापाइलाका संस्थापक प्रिन्सिपल हुन् ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *