सीमाक्षेत्रको सुरक्षा जटिलतामा सहयोग गर्न नेपाली सेना तयारी अवस्थामा

काठमाडौँ । कालापानी, लिपुलेक, लिम्पियाधुरा, सुस्तालगायतका सम्वेदनशील सीमाक्षेत्रमा सशस्त्र प्रहरी वलले चौबीसै घन्टा सुरक्षा प्रदान गर्दै आइरहेको छ । त्यस्ता इलाकाहरुमा सुरक्षाको जटिलता देखिए सहयोग गर्न नेपाली सेनाले तयारी गरेको छ ।

नेपाल सरकारले तीन वर्षपछि सीमा क्षेत्रमा नेपालीे सेना खटाउने निर्णय यसअघि नै गरिसकेको छ । यद्यपी सीमावर्ती क्षेत्रको परिस्थिति नियन्त्रणबाहिर जानेसक्ने अवस्थाका लागि सेनालाई तयारी हालतमा राखिएको सुरक्षा स्रोतले जनाएको छ ।

चीनसँगको उत्तरी सीमा र भारतसँगको दक्षिणी एवम् पूर्वी सीमामा परिस्थिति त्यति जटिल नभए पनि सशस्त्रको बेस क्याम्प (बीओपी)हरु तीब्ररुपमा विस्तार भइरहेको छन् । चालू आर्थिक वर्षभित्र यस्ता बीओपीको संख्या २ सय २४ पुर्याउने सरकारको लक्ष्य छ । यो लक्ष पुर्याउन शसस्त्र प्रहरीले हुम्लाको हिल्सा र मुस्ताङको कोराला सीमाक्षेत्रमा हालै बीओपी स्थापना गरिसकेको छ ।

कालापानी क्षेत्रको संवेदनशीलतालाई मध्यनजर गर्दै प्रधानसेनापति पूर्णचन्द्र थापा तथा शसस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले त्यहाँको बस्तुस्थिति तथा भौगोलिक परिस्थितिको स्थलगत निरीक्षण गरिसकेका छन् । दुबै सुरक्षा प्रमुखले त्यहाँ तैनाथ फौजलाई उच्च मनोवलका साथ काम गर्न निर्देशन दिएका छन् । जटिल परिस्थितिमा शसस्त्रको फौजलाई सहयोग गर्न सक्ने गरी नेपाली सेनाले एउटा टुकडीलाई तयारी अवस्थामा राखेको छ ।

खलंगादेखि लिपुलेक जोड्ने बाटोको निर्माणकार्य नेपाली सेनाले नै गरिरहेको छ । यस्तो अवस्थामा उक्त इलाका नेपाली सेनाको उपस्थिति बाक्लै रहेको बताइएको छ । वि.सं. २०८० सालभित्र सीमा क्षेत्रको सुरक्षाको जिम्मा नेपाली सेनालाई दिने सरकारी निर्णय छ । सोही निर्णयअनुसार नेपाली सेना आन्तरिक तयारीमा जुटिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *