काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विनोद चौधरी दक्षिण कोरियाको सियोलमा आयोजित एसियाली राजनीतिक दलहरूको अन्तर्राष्ट्रिय सम्मेलन (आईसीएपीपी) को स्थायी समिति सदस्यमा निर्वाचित भएका छन् ।
आईसीएपीपीको १३औँ महासभामा सहभागी चौधरीले आफू स्थायी समिति सदस्यमा निर्वाचित भएको जानकारी दिएका हुन् । उनले नयाँ जिम्मेवारी प्राप्त गर्नुलाई सम्मानका रूपमा लिँदै यसले नेपालका दृष्टिकोणलाई क्षेत्रीय मञ्चमा प्रस्तुत गर्ने अवसर प्रदान गरेको बताएका छन् ।
महासभाको मुख्य नारा ‘परिवर्तनशील विश्वमा विश्वासको पुनर्निर्माण’ रहेको छ । उनले यो विषय नेपाल र समग्र एसियाली क्षेत्रका लागि विशेष सान्दर्भिक रहेको उल्लेख गरेका छन् ।
युवापुस्ताले सरकार र राजनीतिक दलसँग थप जवाफदेहिता, अर्थपूर्ण अवसर तथा स्वदेशमै आफ्नो भविष्य निर्माण गर्ने वातावरणको माग गरिरहेको भन्दै उनले नयाँ पुस्ताको विश्वास कसरी जित्ने भन्ने प्रश्न महत्वपूर्ण रहेको बताएका छन् ।
उनले एसियाभरिका राजनीतिक दलका प्रतिनिधिसँग सहकार्य गर्दै लोकतान्त्रिक सुशासन सुदृढ गर्ने, उद्यमशीलतालाई प्रोत्साहन गर्ने तथा क्षेत्रीय संवादलाई सार्थक सहकार्यमा रूपान्तरण गर्ने दिशामा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
