काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको आधिकारिकतासम्बन्धी विवादमा आफ्नो संलग्नताबारे उठेका प्रश्नको खण्डन गरेका छन् ।
बिहीबार सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गर्दै सभापति थापाले कांग्रेसको आधिकारिकतासम्बन्धी कानुनी लडाइँमा आफूले कुनै पनि अनुचित आर्थिक कारोबार नगरेको स्पष्ट पारेका हुन् ।
उनले आफू कुनै कमजोर नैतिक धरातलमा नरहेको र आर्थिक लेनदेनमा संलग्न नभएको दाबी गरेका छन्। बिचौलिया इनम सापकोटाको सार्वजनिक अडियो तथा बयानमा आर्थिक लेनदेनको विषय जोडिएकोबारेमा उनले करोडौँ रुपैयाँको चर्चा भए पनि आफूले एक सुकोसमेत अनुचित लेनदेन नगरेको बताए।
उनले भने, ‘ढुक्क हुनुहोस्, म गगन थापा, तपाईंको दाइ, भाइ, छोरा, साथी र सभापति कुनै कमजोर नैतिक धरातलमा उभिएको छैन। मेरा हातहरू सफा छन् । मेरा पक्षमा ढुक्कले बोल्नुहोस्। गलत प्रश्न मलाई होइन, सही प्रश्न सही ठाउँमा सोधौँ।’ सभापति थापाले कांग्रेसको विशेष महाधिवेशनलाई पार्टीभित्रको विद्रोहको संज्ञा दिँदै विद्रोह गर्नेहरूले परिणामको चिन्ता नगर्ने पनि बताएका छन्।
