सामाजिक सञ्जालबाट महिला तथा नाबालिकाको चरित्र हत्या गर्ने ९ जना पक्राउ

काठमाडौं । सामाजिक सञ्जालको दुरुपयोग गरी महिला तथा नाबालिकाको चरित्र हत्या, अश्लील गालीगलौज, ब्ल्याकमेलिङ तथा धम्की दिने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ ।

प्रहरी महानिरीक्षकको सचिवालयको विशेष सक्रियतामा साइबर ब्यूरो तथा विभिन्न प्रहरी कार्यालयको सहकार्यमा सञ्चालन गरिएको अपरेसन डिजिटल स्वाभिमान – महिला तथा बालबालिकाको सम्मान’ अभियानअन्तर्गत पछिल्लो २४ घण्टामा उनीहरू पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा काठमाडौं टोखा नगरपालिका–१ का २६ वर्षीय आशिष तामाङ, ललितपुर महानगरपालिका–१४ का ३७ वर्षीय रोहित विक्रम राणा, काठमाडौं नागार्जुन नगरपालिका–१ मा बस्ने भारत बिहारका ३२ वर्षीय महमद फेसल एजाज, इलाम देउमाई नगरपालिका–९ का ३७ वर्षीय विमल दर्जी खत्री, म्याग्दी मंगला गाउँपालिका–५ अर्मनका ५६ वर्षीय दिलबहादुर मगर, उदयपुर चौदण्डीगढी नगरपालिका–९ का २५ वर्षीय सुवास कार्की र सुर्खेत वीरेन्द्रनगर नगरपालिका–११ घर भई काठमाडौं महानगरपालिका–१० बस्ने ३२ वर्षीय चिरञ्जीवी सापकोटा रहेका छन् । यस्तै, १५ र १६ वर्षका दुई बालकलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीका अनुसार आशिष तामाङले फेसबुकमा नक्कली खाता बनाई नाबालिकाको अश्लील फोटो तथा भिडियो उनका आफन्त र साथीहरूलाई पठाएर चरित्र हत्या गरेको आरोप छ । रोहित विक्रम राणाले इमोमार्फत युवतीलाई अश्लील, अपमानजनक तथा अशोभनीय अभिव्यक्ति दिई दुव्र्यवहार गरेको आरोपमा पक्राउ परेका हुन् ।

त्यस्तै, महमद फेसल एजाजले प्रेम सम्बन्ध टुटेपछि पीडितका फोटो तथा भिडियो सामाजिक सञ्जालमा पोस्ट गरेको, विमल दर्जी खत्रीले नक्कली टिकटक खातामार्फत पीडितका गोप्य फोटो तथा भिडियो प्रसारण गरेको र दिलबहादुर मगरले फेसबुकमार्फत अश्लील गालीगलौज गरी चरित्र हत्या गरेको आरोप छ ।

सुवास कार्कीले फेसबुकमा नक्कली खाता बनाई अश्लील फोटो तथा भिडियो पठाएर ब्ल्याकमेलिङ तथा चरित्र हत्या गरेको तथा चिरञ्जीवी सापकोटाले ह्वाट्सएपमार्फत महिलालाई अश्लील गालीगलौज गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यस्तै, दुई बालकले पीडितको सामाजिक सञ्जाल ह्याक गरी अश्लील फोटो तथा भिडियो बनाउने, सार्वजनिक गरिदिने धम्की दिने र रकम माग गर्ने कार्य गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका सबैमाथि विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा सम्बन्धित जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको नेपाल प्रहरीले जनाएको छ ।

नेपाल प्रहरीले यस्ता साइबर दुव्र्यवहार, धम्की, ब्ल्याकमेलिङ तथा चरित्रहत्या सम्बन्धी घटनाबाट पीडित भएकाहरूलाई नजिकको प्रहरी कार्यालय वा साइबर ब्यूरोमा उजुरी तथा सूचना दिन आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *