कर्णाली राजमार्ग र नाग्मा–गमगढी सडकमा अवरोध हटाउन ३० दिनको अल्टिमेटम

जुम्ला । सडक डिभिजन कार्यालय जुम्लाले कर्णाली राजमार्ग र नाग्मा–गमगढी सडकको सडक सीमा तथा क्षेत्राधिकारभित्र राखिएका सामान, निर्माण सामग्री र अनधिकृत संरचना ३० दिनभित्र हटाउन सार्वजनिक सूचना जारी गरेको छ ।

डिभिजनले मंसिर ९ गते सूचनामार्फत कर्णाली राजमार्गको दै खोला–नाग्मा–जुम्ला सडक खण्ड तथा नाग्मा–गमगढी सडकको सडक सीमा क्षेत्रमा अवरोध हुने गतिविधि रोक्न आग्रह गरेको हो ।

सडक क्षेत्रभित्र व्यापारिक सामान राख्ने, गाईवस्तु बाँध्ने, बिस्कुन सुकाउने, निर्माण सामग्री थुपार्ने, सडक किनारमा अस्थायी वा खुद्रा व्यापार सञ्चालन गर्ने तथा टहरा, छाप्रा, घुम्ती, बार र घेराबारलगायत संरचना निर्माण गर्ने कार्यले सवारी आवागमन, सडक सुरक्षा, मर्मतसम्भार तथा निर्माणमा अवरोध पुगिरहेको डिभिजनले जनाएको छ ।

सडकको नाली, पेटी तथा अन्य संरचना अवरुद्ध हुने गरी सामग्री राख्ने गतिविधि समेत रोक्न सूचनामार्फत आग्रह गरिएको छ । सूचना प्रकाशित भएको मितिले ३० दिनभित्र सडक सीमा तथा क्षेत्राधिकारमा राखिएका मालसामान, निर्माण सामग्री, व्यापारिक सामग्री, अस्थायी संरचना तथा अन्य अवरोध सम्बन्धित व्यक्ति, संस्था वा निकायले आफैँ हटाएर सडक क्षेत्र खाली गर्नुपर्ने डिभिजनले जनाएको छ ।

तोकिएको अवधिभित्र सडक क्षेत्र खाली नगरेमा प्रचलित सार्वजनिक सडक ऐन, २०३१ तथा अन्य सम्बन्धित कानुनबमोजिम अनधिकृत संरचना तथा अवरोध हटाउने वा भत्काउने लगायतका कारबाही गरिने सूचनामा उल्लेख छ ।

त्यस्तो कारबाही गर्दा लाग्ने खर्च समेत सम्बन्धित व्यक्ति, संस्था वा निकायबाट कानुनबमोजिम असुलउपर गरिने सडक डिभिजन, जुम्लाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *