काठमाडौं । पोर्चुगलका कप्तान तथा सुपरस्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् ।
४१ वर्षीय रोनाल्डोले बिहीबार सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत भावुक भिडियो सन्देश सार्वजनिक गर्दै पोर्चुगल राष्ट्रिय टोलीबाट आफ्नो यात्रा टुंग्याउने घोषणा गरेका हुन् ।
रोनाल्डो पुरुष अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने र सर्वाधिक खेल खेल्ने खेलाडी हुन् । उनले सन् २००३ मा पोर्चुगलका लागि डेब्यु गरेयता २३४ खेलमा १४६ गोल गरेका छन् । अन्तराष्ट्रिय फूटबलमा रोनाल्डो सर्वाधिक गोल गर्ने खेलाडी हुन् ।
उनकै कप्तानीमा पोर्चुगलले सन् २०१६ मा पहिलो पटक युरोपियन च्याम्पियनसिपको उपाधि जितेको थियो । त्यसैगरी, उनले पोर्चुगललाई सन् २०१९ र २०२५ मा गरी दुई पटक यूईएफए नेसन्स लिगको उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका थिए ।
रोनाल्डोले यसअघि विश्वकपको अन्तिम १६ बाट पोर्चुगल बाहिरिएपछि अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने सोच बनाएका थिए । तर, पोर्चुगिज फुटबल महासंघ (एफपीएफ) को आग्रहपछि उनले राष्ट्रिय टोलीमा निरन्तरता दिएका थिए ।
रोनाल्डोले विश्वकपका ६ संस्करणमा गोल गर्ने पहिलो खेलाडीको कीर्तिमानसमेत बनाएका छन् । उनले विश्वकपमा ११ तथा युरोपियन च्याम्पियनसिपमा १४ गोल गरेका छन् । युरोपियन च्याम्पियनसिपमा उनको नाममा सर्वाधिक गोलको कीर्तिमान छ ।
पाँच पटकका बालोन डी’ओर विजेता रोनाल्डोको सन्याससँगै अन्तर्राष्ट्रिय फुटबलमा एक युगको अन्त्य भएको छ ।
