नेपाल–चीन पर्यटन प्रवर्द्धनमा हवाई तथा स्थल सम्पर्क विस्तारमा मन्त्री पौडेलको जोड

काठमाडौं । पर्यटन, संस्कृति तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेल (गनेस)ले नेपाल र चीनबीच पर्यटन प्रवर्द्धन, हवाई तथा स्थल सम्पर्क विस्तार, सांस्कृतिक आदानप्रदान र लगानी सहकार्यलाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन् ।

नेपाल–चीन संयुक्त पर्यटन प्रवर्द्धन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले दुई देशबीचको ऐतिहासिक, सांस्कृतिक तथा सभ्यतागत सम्बन्धलाई पर्यटनमार्फत थप प्रगाढ बनाउने आवश्यकता औँल्याएका हुन् ।

नेपाल र चीन भूगोल तथा कूटनीतिले मात्र जोडिएका मुलुक नभई हजारौँ वर्ष पुरानो इतिहास, दर्शन, कला, धर्म र संस्कृतिका माध्यमबाट एकअर्कासँग जोडिएका दुई प्राचीन सभ्यताका प्रतिनिधि रहेको उनले बताए । हिमाल पार गरेर यात्रा गर्ने भिक्षु, कलाकार, व्यापारी, तीर्थयात्री तथा सर्वसाधारणले दुवै देशको विचार, ज्ञान, विश्वास र संस्कृतिलाई समृद्ध बनाउँदै आएको उनको भनाइ थियो ।

काठमाडौं उपत्यकाको प्राचीन सांस्कृतिक परम्परालाई चीनको शान्सी प्रान्तस्थित वुताइ पर्वतसँग जोड्ने मञ्जुश्रीको धार्मिक मान्यता, नेपाली राजकुमारी भृकुटी र कलाकार अरनिकोको योगदान तथा चिनियाँ बौद्ध तीर्थयात्री फा सियान र श्वेनचाङका यात्रालाई दुई देशबीचको सभ्यतागत सम्बन्धका महत्वपूर्ण उदाहरणका रूपमा उनले प्रस्तुत गरे ।

मन्त्री पौडेलले नेपालमा लोकप्रिय ममको सांस्कृतिक यात्रालाई पनि नेपाल–चीन आदानप्रदानको रोचक उदाहरणका रूपमा व्याख्या गरे । काठमाडौंका नेवार समुदायको खानपान संस्कृतिसँग जोडिएको मम विभिन्न संस्कृतिसँग घुलमिल हुँदै स्वरूप र स्वाद परिवर्तन गरेर पुनः नेपाल फर्किएको प्रसंग उल्लेख गर्दै थुक्पा, लाफिङ, चाउचाउ तथा हिमाली परिकारहरूले पनि सांस्कृतिक सम्बन्धलाई जोड्ने काम गरेको उनले बताए ।

नेपालले चिनियाँ पर्यटकका लागि लुम्बिनी, काठमाडौं उपत्यका, पोखरा, चितवन, सगरमाथा, अन्नपूर्ण, मनास्लु, लाङटाङ र मुस्ताङलगायत विविध पर्यटकीय गन्तव्य प्रस्तुत गर्न सक्ने उल्लेख गर्दै प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा, अध्यात्म, साहसिक पर्यटन र स्थानीय अनुभव नेपालको विशेष आकर्षण रहेको उनले बताए ।

त्यस्तै, ग्रेटवाल, फरविडन सिटी, सियानका टेराकोटा योद्धाहरू, छङ्दुका विशाल पाण्डा, गुइलिनका प्राकृतिक दृश्य, ल्हासाको आध्यात्मिक सम्पदा र सांघाईको आधुनिक जीवनशैली नेपाली पर्यटकका लागि चीनका आकर्षण रहेको उनले उल्लेख गरे ।

पर्यटनलाई दुईतर्फी आदानप्रदानका रूपमा अघि बढाउनुपर्नेमा जोड दिँदै मन्त्री पौडेलले दुवै देशका नागरिकलाई एकअर्काको संस्कृति, जीवनशैली र पर्यटन गन्तव्य अनुभव गर्ने अवसर प्रदान गर्नुपर्ने बताए ।

हवाई सम्पर्कलाई अन्तर्राष्ट्रिय पर्यटनको जीवनरेखा उल्लेख गर्दै उनले एयर चाइना, चाइना सदर्न एयरलाइन्स, चाइना इस्टर्न एयरलाइन्स, सिचुआन एयरलाइन्स र हिमालय एयरलाइन्सको योगदानको प्रशंसा गरे । विद्यमान हवाई मार्गलाई थप सुदृढ बनाउने, मागअनुसार उडान संख्या बढाउने, नयाँ सिधा हवाई सम्पर्क विस्तार गर्ने तथा दुवै देशका प्रमुख सहरलाई जोड्ने सम्भावना खोज्नुपर्नेमा उनले जोड दिए ।

हवाई सम्पर्कसँगै रसुवागढी–केरुङ र तातोपानी–झाङ्मुजस्ता स्थल नाकाको प्रभावकारी सञ्चालन, सीमावर्ती पूर्वाधार सुधार र आवागमन प्रक्रिया सरलीकरणलाई पनि पर्यटन, व्यापार तथा जनस्तरको सम्बन्ध विस्तारका लागि महत्वपूर्ण रहेको उनले बताए ।

नेपाल सरकारले पर्यटन पूर्वाधार, विमानस्थल सुविधा, यात्रु सेवा तथा समग्र पर्यटकीय अनुभवको गुणस्तर सुधार गर्न प्रतिबद्ध रहेको उल्लेख गर्दै मन्त्री पौडेलले चिनियाँ लगानीकर्ता, पर्यटन व्यवसायी, आतिथ्य सेवा प्रदायक, हवाई सेवा कम्पनी तथा प्रविधि क्षेत्रका साझेदारलाई नेपालमा थप लगानी र सहभागिताका लागि स्वागत गरे ।

पर्यटन विकाससँगै प्राकृतिक वातावरण संरक्षण, सांस्कृतिक सम्पदाको जगेर्ना र स्थानीय समुदायले पर्यटनबाट अर्थपूर्ण लाभ प्राप्त गर्ने सुनिश्चित गर्नुपर्नेमा पनि उनले जोड दिए । धेरै पर्यटक भित्र्याउने मात्र नभई पर्यटकीय गन्तव्यलाई विशेष बनाउने मानिस, समुदाय र स्थानमा समृद्धि पुर्याउने पर्यटन विकास गर्नुपर्ने उनको भनाइ थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *