अपुष्ट सूचना सार्वजनिक नगर्न काठमाडौं प्रहरीको आग्रह, गोप्य सामग्री चुहावटबारे अनुसन्धान सुरु

काठमाडौं । अनुसन्धान प्रक्रियाबारे केही सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा सार्वजनिक भइरहेका दाबी र अभिव्यक्तिप्रति जिल्ला प्रहरी परिसर काठमाडौंले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंले आइतबार विज्ञप्ति जारी गरी प्रचलित कानुनबमोजिम संकलित तथ्य, प्रमाण तथा प्राविधिक विश्लेषणका आधारमा अनुसन्धान प्रक्रिया अघि बढाइएको स्पष्ट पारेको हो ।

प्रहरीले अनुसन्धानका सबै कार्य प्रचलित कानुनी व्यवस्था, विधि र प्रक्रियाअनुसार निष्पक्ष तथा तथ्यपरक रूपमा भइरहेको जनाएको छ ।
अनुसन्धानकै क्रममा रहेका घटनासँग सम्बन्धित गोप्य तथा संवेदनशील, अपुष्ट सूचना, विवरण र सामग्री अनधिकृत रूपमा सार्वजनिक भएको विषयलाई प्रहरीले गम्भीरतापूर्वक लिएको जनाएको छ । यस सम्बन्धमा छुट्टै गोप्य अनुसन्धान भइरहेको पनि विज्ञप्तिमा उल्लेख छ ।

अनुसन्धानको पूर्ण निष्कर्ष नआउँदै अपुष्ट, भ्रामक वा तथ्यहीन सूचना तथा सामग्री सार्वजनिक गर्दा अनुसन्धान प्रक्रियामा प्रतिकूल प्रभाव पर्न सक्ने, घटनाबारे अनावश्यक भ्रम सिर्जना हुने तथा गोपनीयता र कानुनी अधिकारमा असर पर्न सक्ने प्रहरीको भनाइ छ ।

प्रहरीले अनुसन्धानसँग सम्बन्धित अपुष्ट सामग्री सार्वजनिक नगर्न सञ्चारमाध्यम, सामाजिक सञ्जाल प्रयोगकर्ता तथा आम नागरिकलाई अनुरोध गर्दै कुनै सूचना, प्रमाण वा विषयमा जिज्ञासा भए आधिकारिक निकायबाट प्राप्त सूचनालाई मात्र आधार बनाउन आग्रह गरेको छ । तथ्य र प्रमाणका आधारमा निष्पक्ष, पारदर्शी तथा कानुनसम्मत अनुसन्धान गर्न प्रतिबद्ध रहेको विज्ञप्तिमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *