तस्करी रोक्ने क्रममा नवलपरासीमा सशस्त्र प्रहरीमाथि आक्रमण, ६ राउण्ड हवाई फायर

पश्चिम नवलपरासी । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका–५, गेरमा तस्करी गरी भारततर्फ लैजाँदै गरिएको खरबुजाको बीउ नियन्त्रणमा लिने क्रममा सशस्त्र प्रहरीमाथि आक्रमण भएको छ । आक्रमणपछि स्थिति नियन्त्रणमा लिन सशस्त्र प्रहरीले ६ राउण्ड हवाई फायर गरेको छ।

शनिबार साँझ करिब ७ः३० बजे खरबुजाको बीउ तस्करी रोक्ने क्रममा सानो संख्यामा खटिएको सशस्त्र प्रहरी टोलीमाथि ठूलो संख्यामा आएका तस्कर समूहले ढुङ्गामुढा प्रहार गरेको सशस्त्र प्रहरीले जनाएको छ।

सीमा सुरक्षा गुल्म हरपुरबाट सशस्त्र प्रहरी नायब निरीक्षकको कमाण्डमा सात जनाको टोली खटिएको थियो। उक्त टोलीमाथि करिब १०० देखि १५० जनाको समूहले आक्रमण गरेको थियो। आक्रमणबाट ड्युटीमा रहेका चार जना सशस्त्र प्रहरी कर्मचारी सामान्य घाइते भएका छन्।

नियन्त्रणमा लिइएको सामानसमेत आक्रमणकारी समूहले खोसेर लगेपछि स्थिति तनावपूर्ण बनेको थियो। त्यसपछि सशस्त्र प्रहरीले स्थिति नियन्त्रणमा लिन ६ राउण्ड हवाई फायर गरेको जनाएको छ। घटनामा अन्य मानवीय क्षति भने भएको छैन।

सशस्त्र प्रहरीले सुरुमा २० देखि २५ बोरा खरबुजाको बीउ नियन्त्रणमा लिएको भए पनि आक्रमणकारी समूहले खोसेर लगेपछि दुई बोरा मात्र सुरक्षित राख्न सकेको जनाएको छ।

घटनास्थलमा थप सुरक्षा व्यवस्था मिलाउन सशस्त्र प्रहरी बल नेपाल नं. २६ गण पश्चिम नवलपरासीबाट थप टोली परिचालन गरिएको थियो।

सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार पछिल्लो समय तस्करी नियन्त्रणका क्रममा सीमामा खटिएका सुरक्षाकर्मीमाथि तस्कर समूहबाट आक्रमणका घटना बढ्दै गएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *