पुरानो प्रतिनिधिसभा नब्युँतिएझैँ कांग्रेसको पुरानो कार्यसमिति पनि ब्युँतिदैनः विश्वप्रकाश शर्मा

झापा । नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले आफूहरू अब नेता फकाउनेतर्फ भन्दा जनता फकाउनेतर्फ लागेको बताएका छन् ।

आइतबार झापा क्षेत्र नम्बर ३ अन्तर्गत कचनकवल गाउँपालिकामा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् । पार्टीको असन्तुष्ट पक्षप्रति लक्षित गर्दै शर्माले भने, ‘उहाँहरूलाई धेरै आग्रह गरियो, तर मान्नुभएन। अब नेता फकाउँदै हिँडिदैन, गाउँमा गएर जनता फकाउने हो।’

‘अब नेता फकाउने कार्यभन्दा जनतालाई बुझाउने कार्यमा अघि बढ्नुपर्छ, गाउँ–गाउँ र घर–घरमा कांग्रेस पुग्नुपर्छ,’ उनले भने । उनले पुरानो प्रतिनिधिसभा नब्युँतिएझैँ कांग्रेसको पुरानो कार्यसमिति पनि नब्युँतिने भएकाले भ्रम र अलमलमा नपर्न सबैलाइ आग्रह गरे ।

वरिष्ठ उपसभापति शर्माले जनताको मन जितेर आगामी स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसले बहुमत ल्याउने गरी सामाजिक सेवामूलक काम, विकास निर्माण र जनताका दैनिकीमा परेका अप्ठ्यारामा सहयोगी बन्नुपर्नेमा जोड दिए ।

निर्वाचनमा जो राम्रो उम्मेदवार छ, उसैलाई बोकेर जानुपर्ने बताउँदै शर्माले भने, ‘आफूभन्दा कोही राम्रो र जित्ने उम्मेदवार छ भने उसैलाई बोकेर हिँडौँ र चुनाव जिताऔँ।’

महाधिवेशनबाट गगन थापाको सभापतित्वमा नयाँ नेतृत्व आएसँगै नेपाली कांग्रेस बदलिएको दाबी गर्दै उनले राजनीतिमा मन र मत जित्न त्याग र फराकिलो मनले नै पार्टीलाई जिताउने उल्लेख गरे ।

देशलाई समुन्नतिमा लैजाने र जनतालाई निराशाबाट मुक्त गर्ने काम कांग्रेसले नै गर्ने बताउँदै उनले पार्टी अब बोलीमा मात्र नभई व्यवहारमा समेत सुधारिएर तल्लो तहमा फर्किएको जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *