काठमाडौँ । व्यावसायिक तथा सार्वजनिक मर्यादाविपरीत गैरकानुनी गतिविधि गरेको आरोपमा काठमाडौंका विभिन्न स्पा तथा मसाज सेन्टरबाट १४ जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार विभिन्न स्थानमा सञ्चालित स्पा तथा मसाज सेन्टरहरूमा गैरकानुनी गतिविधि हुने गरेको सूचनाका आधारमा प्रहरी टोलीले ती सेन्टरहरूमा जाँच गरेको थियो ।
जाँचका क्रममा उक्त गतिविधिमा संलग्न रहेको आरोपमा १३ जना महिला र एक पुरुषलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेहरूमा रामेछाप, नुवाकोट, खोटाङ, भोजपुर, नवलपरासी, काभ्रेपलाञ्चोक, दोलखा, झापा र धादिङ जिल्लाका विभिन्न स्थानका महिलाहरू रहेका छन् । उनीहरू काठमाडौं तथा ललितपुरका विभिन्न स्थानमा बस्दै आएका थिए ।
पक्राउ पर्ने एक पुरुष बंगलादेशका ३८ वर्षीय मसुद राना रहेको प्रहरीले जनाएको छ । उनी काठमाडौंको ठमेलमा बस्दै आएका थिए ।
नियन्त्रणमा लिइएका सबैमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिएका छन् ।
