बर्लिन । युक्रेन युद्ध अन्त्यका लागि रूससँग वार्ता गर्न युरोपेली नेताहरू तयार भएका छन् । जर्मनीको बर्लिनमा आयोजित ‘कोलिसन अफ द विलिङ’ बैठकपछि युरोपेली नेताहरूले युद्ध अन्त्यका लागि कूटनीतिक संवाद अघि बढाउन तयार रहेको बताएका हुन् ।
बेलायतका प्रधानमन्त्री एन्डी बर्नहमले युरोपको धारणा स्पष्ट, निरन्तर र एकताबद्ध रहेको बताएका छन् । जर्मन चान्सलर फ्रेडरिक मर्जले भने मस्कोले अघि सारेका अधिकतम मागहरू व्यावहारिक नभएको टिप्पणी गरेका छन् ।
बर्लिनमा भएको बैठकमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ जारेड कुश्नरले ट्रम्प रूससँग सम्झौता गर्न चाहेको र त्यस प्रक्रियामा युरोप पनि साथमा रहोस् भन्ने उनको चाहना रहेको बताएका छन् ।
रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले यसअघि युरोपको सहभागितामा हुने वार्ताप्रति असहमति जनाउँदै आएका थिए । तर, चीनको शन्जेनमा चिनियाँ राष्ट्रपति सी चिनफिङ र अमेरिकी राष्ट्रपति ट्रम्पसँग भएको त्रिपक्षीय वार्तापछि पुटिनले युरोपलाई वार्तामा सहभागी गराउने विषयमा अमेरिकाले जोड दिएको बताएका थिए ।
पुटिनले युरोपका प्रस्तावहरू स्पष्ट भएपछि रूस युरोपसँग वार्ता गर्न तयार रहेको संकेत गर्दै युरोपेली नेताहरूलाई मस्को आउन निमन्त्रणा दिएका थिए । युरोपको सहभागिताबिना सुरक्षा सम्बन्धी विषयमा छलफल गर्नु अर्थपूर्ण नहुने उनको भनाइ थियो । उनले रूसले युरोपमाथि आक्रमण गर्ने योजना बनाएको आरोप पनि अस्वीकार गरेका छन् ।
कुश्नरका अनुसार ट्रम्पले युक्रेन युद्धमा शान्ति सम्झौता सम्भव रहेको विश्वास गरेका छन् । रूस पनि युक्रेनलाई नेटोको धारा ५ जस्तै सामूहिक सुरक्षा प्रत्याभूति दिने व्यवस्थाप्रति सहज रहेको ट्रम्पको बुझाइ रहेको उनले बताएका छन् ।
नेटोको धारा ५ अन्तर्गत कुनै सदस्य राष्ट्रमाथि आक्रमण भएमा अन्य सदस्य राष्ट्रले पनि त्यसलाई सामूहिक आक्रमणका रूपमा लिएर रक्षा सहयोग गर्ने व्यवस्था छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनका लागि यस्तै सुरक्षा प्रत्याभूति माग गर्दै आएका छन् । तर, पुटिनले यस्तो व्यवस्था स्वीकार गर्ने संकेत दिएका छैनन् ।
रूसले युक्रेनलाई नेटो सदस्य बन्न दिने प्रस्ताव अस्वीकार गर्दै आएको छ । अमेरिकी वार्ताकारहरूले नेटो सदस्यता बाहिर रहेर पनि धारा ५ सरह सुरक्षा प्रत्याभूति दिने विकल्पमा छलफल गरेको र त्यसका लागि युक्रेनले भूभागसम्बन्धी कठिन सम्झौता स्वीकार गर्नुपर्ने प्रस्ताव अघि सारिएको रिपोर्टहरूमा उल्लेख छ ।
जेलेन्स्की, मर्ज, बर्नहम र फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रों भने शान्ति सम्झौताको सम्भावनाबारे अझै आशावादी देखिएका छैनन् । जेलेन्स्कीले पुटिनले आफूले युद्ध अन्त्यका लागि सहमति नजनाउने कुरा बारम्बार दोहो¥याउँदै आएको बताएका छन् ।
मर्जले अमेरिकी सहभागिताले शान्ति सम्झौताको सम्भावना बढाएको भए पनि युरोप सुरक्षा सम्बन्धी गम्भीर वार्ताका लागि तयार रहेको बताएका छन् । तर, त्यस्तो वार्ता युक्रेनसँगको वास्तविक शान्ति प्रक्रियासँग जोडिएको हुनुपर्ने र सम्झौताका सर्तहरू युक्रेन तथा युरोपका लागि स्वीकार्य हुनुपर्ने उनको भनाइ छ ।
