काठमाडौं । एसीसी एसिया कप राइजिङ स्टार्स अन्तर्गत आज हुने खेलमा नेपाल र भारत ‘ए’ भिड्दैछन् । दोहाको वेस्ट इन्ड पार्क अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा हुने खेल दिउँसो ३:४५ बजे शुरु हुनेछ ।
दुवै टोली आज जित निकाल्दै प्रतियोगिताको सुखद शुरुवात गर्न चाहन्छन् । भारत तिलक बर्मा र नेपाल सन्दीप लामिछानेको कप्तानीमा मैदान उत्रिनेछ । नेपाली टोलीमा सिनियर र युवा खेलाडीको राम्रो संयोजन रहेको छ ।
जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपीएल)को प्लेअफमा नपुगेका टोलीका खेलाडीलाई समेटेर टोली बनाइएको थियो । लामो समय राष्ट्रिय टोलीबाट खेलेका कप्तान लामिछानेसहित कुशल भुर्तेल, लोकेश बम, सन्दीप जोरा, देव खनाल र ललित राजवंशी नेपाली टोलीमा रहेका छन् । यस्तै सोमपाल कामी चोटबाट प्रतियोगिताबाट बाहिरिँदा उनको स्थानमा प्रतिष जिसीले मौका पाएका पाएका छन् ।
भारतपनि बलियो टोलीसहित दोहा पुगेको छ । भारतीय टोलीमा पावर हिटर अभिषेक शर्मा र भैभव सूर्यवंशीसहित रिंकु सिंह, तिलक बर्मा, शाहबाज अहमद लगायत रहेका छन् ।
समूह ‘बी’मा रहेको नेपालले दोस्रो खेल आइतबार युएई र तेस्रो खेल मंगलबार पाकिस्तान ‘ए’सँग खेल्नेछ । अर्को समूहमा बंगलादेश ‘ए’, श्रीलंका ‘ए’ र हग्काग रहेका छन । दुवै समूहका शीर्ष दुई स्थानमा रहने टोली सेमिफाइनलमा पुग्नेछ ।
