बीबीसी । एन्थ्रोपिक शेयर बजारमा प्रवेश गरेको पहिलो दिनमै विश्वकै सबैभन्दा मूल्यवान सार्वजनिक कम्पनीमध्ये एक बनेको छ । कृत्रिम बुद्धिमत्ता (एआई) कम्पनी एन्थ्रोपिकको शेयर बिहीबार अमेरिकी नास्डाकमा कारोबार सुरु भएपछि कम्पनीको मूल्यांकन करिब १.७५ ट्रिलियन अमेरिकी डलर पुगेको हो ।
एआई च्याटबोट क्लाउड (ऋबिगमभ) निर्माता एन्थ्रोपिकको शेयर प्रतिकित्ता ८३ डलरमा प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) गरिएको थियो । कारोबार सुरु भएपछि शेयर मूल्य तीव्र रूपमा बढेर १११.५० डलर पुगेको थियो भने कारोबार अवधिमा ११५ डलरभन्दा माथिसमेत पुगेको थियो ।
तर, कारोबारको अन्त्यमा शेयर मूल्य घटेर ९७.१७ डलरमा बन्द भयो । प्रारम्भिक निष्कासन मूल्यको तुलनामा शेयर १७.१ प्रतिशतले बढेको भए पनि दिनको उच्च मूल्यबाट भने उल्लेख्य गिरावट आएको थियो ।
बन्द मूल्यका आधारमा कम्पनीको बजार पूँजीकरण करिब १.२८ ट्रिलियन डलर पुगेको छ । पूर्ण रूपमा समायोजित मूल्यांकन (ागििथ मष्गितभम खबगिबतष्यल) भने करिब १.७५ ट्रिलियन डलर पुगेको छ, जुन स्पेसएक्सको बजार मूल्यांकनभन्दा केही कम हो ।
एन्थ्रोपिकले सार्वजनिक शेयर निष्कासन र निजी प्लेसमेन्टमार्फत कुल १०७.३ अर्ब डलर जुटाएको छ । यो स्पेसएक्सले गत जुनमा कायम गरेको ८६.२ अर्ब डलरको आईपीओ रकमको रेकर्डलाई पार गर्दै इतिहासकै ठूलो आईपीओ बनेको छ ।
पहिलो दिन एन्थ्रोपिकका ८४ करोड ६० लाखभन्दा बढी शेयर कारोबार भएका छन् । यो स्पेसएक्सको शेयर बजार पदार्पणमा कारोबार भएका ५२ करोड २० लाख शेयरभन्दा बढी हो ।
एन्थ्रोपिकको शेयर बजार पदार्पणलाई लगानीकर्ताका लागि सफल मानिएको छ । कम्पनीले ठूलो रकम जुटाउनुका साथै अत्याधुनिक एआई प्रविधि विकास गर्ने कम्पनी सार्वजनिक शेयर बजारमा प्रवेश गर्ने पहिलो कम्पनीको रूपमा नयाँ उपलब्धि हासिल गरेको छ ।
यद्यपि, एआई प्रविधिको तीव्र विकास र यस क्षेत्रमा भइरहेको विशाल लगानीप्रति आलोचना तथा चिन्ता पनि बढिरहेको छ । न्युयोर्कस्थित नास्डाक कार्यालय र सान फ्रान्सिस्कोस्थित एन्थ्रोपिकको मुख्यालयबाहिर केही नागरिक समूहले एआई विकास रोक्नुपर्ने मागसहित प्रदर्शन गरेका थिए ।
