एनपीएल : पहिलो क्वालिफायरमा आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै

काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजदेखि प्लेअफ चरणका खेल सुरु हुँदैछन् । प्लेअफको पहिलो क्वालिफायरमा आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल साँझ ५ बजे सुरु हुनेछ । दुवै टोली लगातार दोस्रो पटक फाइनलमा पुग्ने लक्ष्यसहित मैदान उत्रनेछन् ।

गत संस्करणको फाइनलमा पनि लुम्बिनी र सुदूरपश्चिमबीच नै प्रतिस्पर्धा भएको थियो । उक्त खेलमा लुम्बिनीले सुदूरपश्चिमलाई ६ विकेटले पराजित गर्दै उपाधि जितेको थियो । यस संस्करणको उद्घाटन खेलमा पनि लुम्बिनीले सुदूरपश्चिमलाई ७ विकेटले हराउँदै सुखद सुरुवात गरेको थियो ।

लुम्बिनी आज पनि सुदूरपश्चिमविरुद्धको आफ्नो विजयी लयलाई निरन्तरता दिन चाहन्छ । यता सुदूरपश्चिम भने अघिल्ला दुई हारको बदला लिँदै फाइनलमा स्थान सुरक्षित गर्ने लक्ष्यमा हुनेछ ।

आजको खेल जित्ने टोलीले सिधै फाइनलमा स्थान बनाउनेछ । पराजित हुने टोलीले भने फाइनल प्रवेशका लागि अर्को अवसर पाउनेछ । उसले इलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायरमा प्रतिस्पर्धा गर्नेछ ।

लिग चरणमा उत्कृष्ट प्रदर्शन गरेको लुम्बिनी ७ खेलबाट ५ जित र १ हारसहित ११ अंक जोड्दै शीर्ष स्थानमा रहेर प्लेअफमा पुगेको हो । चितवन राइनोजविरुद्धको एक खेल वर्षाका कारण रद्द भएपछि लुम्बिनीले एक/एक अंक बाँडेको थियो । लुम्बिनी काठमाडौं गोर्खाजसँग मात्र पराजित भएको थियो भने अन्य खेलमा जित हात पारेको थियो ।

यता सुदूरपश्चिमले लिग चरणका ७ खेलबाट ५ जित र २ हारसहित १० अंक जोड्दै दोस्रो स्थानमा रहेर प्लेअफमा स्थान बनाएको हो । सुदूरपश्चिम लुम्बिनी लायन्स र विराटनगर किंग्ससँग पराजित भएको थियो ।

दुवै टोलीको लक्ष्य पहिलो क्वालिफायर जित्दै उपाधि भिडन्तमा स्थान सुरक्षित गर्नु हुनेछ । यस्तै भोलि हुने इलिमिनेटरको खेलमा काठमाडौं गोर्खाज र चितवन राइनोज भिड्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *