मस्कोमा प्रचण्डको सम्बोधनः प्रत्येक राष्ट्रलाई बाह्य हस्तक्षेपबिना आफ्नो भविष्य निर्धारण गर्ने अधिकार छ

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय सार्वभौमसत्ता सुनिश्चित गर्न आर्थिक स्वतन्त्रता अपरिहार्य रहेको बताएका छन् ।

रसियाको मस्कोमा आयोजित ‘राष्ट्रहरूको स्वतन्त्रताका लागि’ अन्तर्राष्ट्रिय आन्दोलनको साधारण सभालाई सम्बोधन गर्दै प्रचण्डले कुनै पनि राष्ट्र आफ्नै आर्थिक नीति र विकासका प्राथमिकता निर्धारण गर्न स्वतन्त्र नभएसम्म राजनीतिक स्वतन्त्रता पूर्ण हुन नसक्ने बताएका हुन् ।

सम्बोधनका क्रममा प्रचण्डले विश्व इतिहास संवेदनशील मोडमा रहेको उल्लेख गर्दै बहुध्रुवीय विश्व व्यवस्था, सार्वभौम समानता, आपसी सम्मान र शान्तिपूर्ण सहअस्तित्वमा आधारित अन्तर्राष्ट्रिय सम्बन्धको आवश्यकता औँल्याए ।

उनले प्रत्येक राष्ट्रलाई बाह्य हस्तक्षेपबिना आफ्नो भविष्य निर्धारण गर्ने अधिकार रहेको बताए । सीमित बाह्य वित्तीय केन्द्रमा निर्भरता घटाउँदै व्यापार, लगानी तथा पूर्वाधार साझेदारीमार्फत दक्षिण–दक्षिण सहकार्य विस्तार गर्नुपर्ने उनको भनाइ थियो ।

त्यस्तै, विश्वव्यापी वित्तीय संस्थालाई थप लोकतान्त्रिक र उत्तरदायी बनाउनुपर्नेमा जोड दिँदै उनले स्थानीय मुद्रामा व्यापार तथा वैकल्पिक वित्तीय प्रणालीको विकास आवश्यक रहेको बताए ।

प्रचण्डले ‘ग्लोबल साउथ’का मुलुक कच्चा पदार्थका आपूर्तिकर्तामा मात्र सीमित हुन नहुने उल्लेख गर्दै औद्योगिकीकरण, वैज्ञानिक अनुसन्धान र डिजिटल आधुनिकीकरणमार्फत उत्पादन क्षमता बढाउनुपर्ने धारणा राखे ।

नेपालको राजनीतिक परिवर्तनको प्रसङ्ग उल्लेख गर्दै उनले ऐतिहासिक लोकतान्त्रिक आन्दोलन र सफल शान्ति प्रक्रियामार्फत नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा रूपान्तरण भएको स्मरण गराए ।

भारत र चीनको बीचमा रहेको नेपाल स्वतन्त्र र असंलग्न परराष्ट्र नीतिप्रति प्रतिबद्ध रहेको बताउँदै उनले नेपालको भौगोलिक अवस्थालाई भू–राजनीतिक प्रतिस्पर्धाको केन्द्र नभई सहयोग र साझा समृद्धिको पुल बनाउनुपर्ने बताए ।

उनले भने, “भारत र चीनको बीचमा रहेको सार्वभौम, भू–परिवेष्ठित विकासोन्मुख देशका रूपमा नेपाल स्वतन्त्र, असंलग्न परराष्ट्र नीतिप्रति प्रतिबद्ध छ। हाम्रो भूगोल सहयोग र साझा समृद्धिका लागि पुल बन्नुपर्छ, भू–राजनीतिक प्रतिस्पर्धाको क्रिडास्थल होइन।”

रसियासँग नेपालको दीर्घकालीन मैत्रीपूर्ण सम्बन्धको चर्चा गर्दै प्रचण्डले शिक्षा, विज्ञान, व्यापार, पर्यटन र संस्कृतिका क्षेत्रमा सहकार्य थप विस्तार गर्न नेपाल इच्छुक रहेको बताए ।

उनले कुनै पनि राष्ट्र अर्काको सम्मान गर्न नसक्ने गरी शक्तिशाली हुन नहुने र कुनै पनि देश विकासको अधिकारबाट वञ्चित हुन नहुने धारणा राखे । साथै स्वतन्त्रता, शान्ति र सामाजिक न्यायका लागि सङ्घर्षरत विश्वभरका जनसमुदायप्रति ऐक्यबद्धता व्यक्त गरे ।

रसियाको सत्तारूढ दल ‘युनाइटेड रसिया’ले आयोजना गरेको सम्मेलनमा चीन, भारत, अफ्रिका, अमेरिका र युरोपसहित ७६ देशका ४८० प्रतिनिधिको सहभागिता थियो । सम्मेलनमा आयोजक दलका संयोजक भी. याकुशेभले अवधारणापत्र प्रस्तुत गरेका थिए भने रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनले लिखित सम्बोधन पठाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *