एनएसएल फाइनल: पहिलो हाफमा काठमाडौंलाई अग्रता

प्रज्जवल थापा । पहिलो संस्करणको फ्रेन्चाइज फूटबल प्रतियोगिता खुकुरी नेपाल सुपर लिग(एनएसएल)को फाइनल खेलको पहिलो हाफ सकिएको छ । पहिलो हाफको समाप्तिमा काठमाडौं रेजर्सले धनगढी एफसीविरुद्ध १-० गोलको अग्रता लिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा काठमाडौंको लागि मेसौके ओलोमोउले एक गोल गरे । पहिको हाफको २२ औं मिनेटमा विश्वास श्रेष्ठको पासमा मेसौकेले गोल गर्दै काठमाडौंलाई शुरुवाती अग्रता दिलाएका हुन् । मेसौकेको प्रतियोगितामा यो आठौं गोल हो ।

आज दुवै टोली फाइनल खेल जित्दै उपाधि उचाल्न चाहन्छन् । धनगढी किरण चेम्जोङ र काठमाडौं विकेश कुथुको कप्तानी रहेको छ ।

यस संस्करणमा मात्र दुई टोलीबिचको यो तेस्रो भेट हो । यसअघिको दुवै खेलमा काठमाडौंमाथि धनगढीले बाजी मारेको थियो । धनगढीले काठमाडौंलाई लिग चरणको खेलमा ३-० र पहिलो प्लेअफ खेलमा २-१ गोल अन्तरले पराजित गरेको थियो । त्यसैले धनगढी आजको खेलमापनि सोही लयलाई निरन्तरता दिन चाहन्छ भने काठमाडौं आजको फाइनल खेलमा बदला लिँदै उपाधि जित्न चाहन्छ ।

अखिल नेपाल फूटबल संघ(एन्फा) को प्रविधिक सहयोगमा नेपाल स्पोर्टस एण्ड इभेन्ट्स म्यानेजमेन्टको आयोजनामा झन्डै १ महिना चलेको लिगमा सात टोलीको सहभागिता रहेको थियो । सहभागि टिममा ललितपुर सिटी एफसी, काठमाडौं रेजर्स, एफसी चितवन, धनगढी एफसी, बुटवल लुम्बिनी एफसी, विराटनगर एफसी र पोखरा थन्डर्स रहेका थिए ।

प्रतियोगिताको विजेताले ३५ लाख रुपैयाँ पाउनेछ भने उपविजेताले १५ लाख रुपैयाँ पाउनेछ । व्यक्तिगत विधाका विजेता सहित उदीयमान खेलाडीले जनही १ लाख रुपैयाँ पाउनेछन् ।

तस्बिर:- काठमाडौं रेजर्स फेसबुक

Leave a Reply

Your email address will not be published. Required fields are marked *