एजेन्सी । स्पेनिस लिग ला लिगामा क्याटलान क्लब बार्सिलोनाले सहज जित निकालेको छ । सोमबार राति भएको खेलमा रायो भाल्लेकानोलाई ५-२ गोलले हराउँदै बार्सिलोना लिगको शीर्ष स्थानमा उक्लिएको हो ।
स्पोटिफाइ क्याम्प नोउमा भएको खेलमा बार्सिलोनालाई जित दिलाउन राफिन्हा र लामिने यामालले दुई/दुई गोल गर्दा एक गोल उपहार पाएको हो । भाल्लेकानोको लागि सेर्जियो कामेल्लोले दुई गोल गरे ।
खेलको १२ औँ मिनेटमा कामेल्लोले गोल गर्दै भाल्लेकानोलाई शुरुवाती अग्रता दिलाएका थिए । १९ औँ मिनेटमा राफिन्हाले गोल गर्दै बार्सिलोनालाई १-१ गोलको बराबरीमा ल्याए । तीन मिनेटपछि लामिनेले गोल गर्दै बार्सिलोनालाई २-१ गोलको अग्रता दिलाए ।
५१ औँ मिनेटमा फ्लोरिन लेजेउनेले आफ्नै पोस्टमा आत्मघाती गोल गरेपछि बार्सिलोनाले खेलमा अग्रता दोब्बर बनाएको थियो । ५९ औँ मिनेटमा सेर्जियो कामेल्लोले गोल गर्दै भाल्लेकानोलाई ३-२ गोलको स्थितिमा ल्याएका थिए ।
७१ औँ मिनेटमा राफिन्हाले व्यक्तिगत दोस्रो होल गर्दै बार्सिलोनालाई सहज जिततर्फ अग्रसर गराए । यस्तै निर्धारित समयको अन्तिम मिनेटमा लामिनेले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई ५-२ गोलको जित दिलाएका हुन् ।
जितसँगै बार्सिलोना ३ खलेबाट ९ अंक जोड्दै अंकतालिकाको शीर्ष स्थानमा रहेको छ । समान खेलबाट एक नाक जोडेको भाल्लेकानो १८ औँ स्थानमा रहेको छ ।
