काठमाडौँ । कप्तान सन्दीप लामिछानेले पाँच विकेट लिएपछि तेस्रो संस्करणको एसिसी प्रिमियर कप अन्तर्गत जारी खेलमा नेपालले बहराइनलाई सस्तैमा अलआउट गरेको हो । मलेसियाको बाङ्गीस्थित वाईएसडी–यूकेएम क्रिकेट ओभलमा जारी खेलमा बहराइनले नेपाललाई जितको लागि ८८ रनको विजयी लक्ष्य प्रस्तुत गरेको हो ।
टस हरेर पहिले ब्याटिङमा उत्रिएको बहराइनले ३६.२ ओभरमा अलआउट हुँदै ८७ रन बनाएको हो । बहराइनको लागि फैज अहमदले १५, मुहमद वासिमले १३ र अलि डावुडले १० रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् ।
नेपालको लागि सन्दीप लामिछानेले १० ओभरमा ४ मेडन राख्दै १४ रन दिएर पाँच विकेट लिए । यस्तै ललित नारायण राजवंशीले तीन विकेट लिँदा करण केसीको नाममा दुई विकेट रह्यो ।
