रसुवा । रसुवाको कालिका गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष सन्दीप पौडेलले जिबजिबे ग्रामीण अस्पतालमा उपचाररत गम्भीर हृदयाघातका बिरामीलाई तत्काल हेलिकप्टरमार्फत उद्धार गरी उच्चस्तरीय हृदयरोग केन्द्रमा लैजान सरकारसँग माग गरेका छन् ।
सामाजिक संजालमार्फत वडाध्यक्ष पौडेलले अस्पतालमा आएका बिरामीको अवस्था अत्यन्तै नाजुक रहेकाले तत्काल विशेषज्ञ उपचार आवश्यक रहेको बताएका हुन् । दुर्गम भौगोलिक अवस्था र पर्याप्त एम्बुलेन्स तथा स्वास्थ्य पूर्वाधारको अभावका कारण बिरामीलाई सडकमार्गबाट लैजान कठिन भएकाले एयर लिफ्ट आवश्यक रहेको उनले बताएका छन् ।
उनले केन्द्र सरकार, प्रदेश सरकार तथा सम्बन्धित निकायलाई तत्काल हेलिकप्टर उद्धारको व्यवस्था गर्न आग्रह गरेका छन् । ‘बिरामी मर्नुअघि नै उद्धार गर्नुपर्छ, एक मिनेट पनि ढिला गर्नु हुँदैन,’ पौडेलले भनेका छन्।
वडा अध्यक्ष पौडेलले रसुवाका दुर्गम क्षेत्रमा पर्याप्त एम्बुलेन्स तथा आपतकालीन सवारीसाधन परिचालन गर्न, जिबजिबे ग्रामीण अस्पताललाई आवश्यक जनशक्ति, उपकरण, औषधि र विशेषज्ञ सेवासहित तत्काल स्तरोन्नति गर्न पनि माग गरेका छन्।
त्यस्तै, वैकल्पिक सडक निर्माणको माग तीन दिनदेखि गरिए पनि सुनुवाइ नभएको भन्दै उनले तत्काल निर्माण सुरु गर्न सरकारसँग आग्रह गरेका छन्। स्वास्थ्य आपतकालीन अवस्थामा उद्धार, राहत र एयर लिफ्टका लागि स्थायी प्रणाली विकास गर्नुपर्ने उनको माग छ।
‘हामी केही गर्न नसक्ने अवस्थामा पुगेका छौं, अब सरकारले गर्नुपर्छ। ढिलाइले ज्यान जान सक्छ,’ पौडेलले भनेका छन्।
उनले स्थानीय जनप्रतिनिधि र प्रभावित नागरिकको आवाज तत्काल सुन्न सरकारसँग आग्रह गर्दै आवश्यक समन्वय तथा सहयोग गर्न सक्ने सबैलाई तत्काल अघि बढ्न आग्रह गरेका छन्।
