प्रज्जवल थापा । इटालियन लिग सिरि ए मा आज लिग च्याम्पियन इन्टर मिलानले युभेन्टसलाई आफ्नो चुनौती पेश गर्दैछ । एल्लिनाज रंगशालामा हुने खेल नेपाली समय अनुसार राति ९:४५ बजे शुरु हुनेछ ।
आज घरेलु मैदानमा हुने खेल जित्दै युभेन्टस च्याम्पियन्स लिग खेल्ने सम्भावना जिवित राख्न चाहन्छ । हाल युभेन्टस ३६ खेलबाट ७२ अङ्क जोड्दै लिगको पाँचौ स्थानमा छ । आजको खेल युभेन्टसले आफ्नो पक्षमा नपारेको खण्डमा युभेन्टसको च्याम्पियन्स लिग खेल्ने सम्भावना लगभग समाप्त हुनेछ । युभेन्टसले लिगको पछिल्लो ५ खेल मध्य ३ खेल जितेको छ ।
यता इन्टर मिलानपनि आजको खेल जित्दै आफ्नो विजयी यात्रालाई निरन्तरता दिन चाहन्छ । लिगको उपाधि जितिसकेको मिलानलाई आजको खेलको नतिजाले केहि फरक पार्नेछैन । हाल मिलान ३६ खेलबाट ८८ अङ्क जोड्दै लिगको शिर्ष स्थानमा छ । मिलानले पछिल्लो ४ खेलमा सतप्रतिशत जित निकालेको छ ।
दुई टोलीबिच भएको पछिल्लो २७ खेल मध्य १४ खेल युभेन्ट्सले जितेको छ भने ४ खेल मिलानले आफ्नो पोल्टामा पारेको थियो ।
