प्रज्जवल थापा । स्पेनिस लिग ला लिगामा आज क्याल्टन क्लब बार्सिलोनाले भ्यालेन्सियाको सामना गर्दै छ । क्याम्प नोउमा हुने खेल नेपाली समय अनुसार राति ९:०० बजे शुरु हुनेछ ।
बार्सिलोनाको प्रमुख लक्ष्य भनेको आज घरेलु मैदानमा हुने खेल जित्दै शिर्ष स्थानको एथ्लेटिको म्याड्रिडसँग अङ्क दुरि घटाउने हो । हाल बार्सिलोना १२ खेलमा २० अङ्क जोड्दै लिगको पाँचौ स्थानमा छ । जुन शिर्ष स्थानमा रहेको बार्सिलोनाको भन्दा ६ अङ्क कम हो । बार्सिलोना अहिले बिस्तारै आफ्नो लय समात्ने प्रयास गरिराखेको छ । क्याल्टन टोलीले लिगको पछिल्लो ५ खेलमा ३ खेलमा जित निकालेको छ भने २ खेलमा पराजित भएको छ ।
यता भ्यालेन्सियापनि आजको खेल जित्दै लिगमा आफ्नो स्थान सुधार गर्न चाहन्छ । हाल भ्यालेन्सिया १३ खेलमा १४ अङ्क जोड्दै लिगको १३ औँ स्थानमा छ । भ्यालेन्सियाले लिगको पछिल्लो ५ खेलमा मात्र एक खेल जितेको छ । त्यसैले टोली आज सकारात्मक नतिजाको अपेक्षामा छ ।
दुई टोलीबिच भएको पछिल्लो २७ भेटमा १५ खेल बार्सिलोनाले जितेको छ भने ४ खेल भ्यालेन्सियाले आफ्नो पोल्टामा पारेको छ । जनवरीमा भएको खेलमा भ्यालेन्सियाले बार्सिलोनालाई २-० गोल अन्तरले पराजित गरेको थियो ।
