काठमाडौं । अष्ट्रेलियामा आजबाट शुरु भएको टप एण्ड टी-२० प्रतियोगितामा नेपाल पराजित भएको छ । शुक्रबार दिउँसो भएको प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपाल नर्दन टेरिटोरी स्ट्राइकसँग ८ विकेटले पराजित भएको हो ।
जितको लागि १ सय २३ रनको झिनो विजयी लक्ष्य पछ्याएको नर्थनले १५ ओभरमा २ विकेटको क्षतिमा लक्ष्य भेट्टाएको हो । नर्थन टेरिटोरीलाई जित दिलाउन डोउव्त्जी होगेन्बोजेमले अर्धसतक बनाए । उनले ३७ बलमा ४ चौका र एक छक्काको मद्दतमा ५० रन बनाए । यस्तै जोर्डन सिल्कले ४२ र डार्सी शर्टले २३ रन बनाए ।
नेपालको लागि पवन सर्राफले दुई विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिंगमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय २२ रन बनाएको थियो । नेपालको लागि पवन सरार्फले ४१ रन बनाउँदा अन्य ब्याट्सम्यानले उल्लेखनीय योगदान दिन सकेनन् । लोकेश बमले १६, नारायण जोशीले १५, कप्तान अनिल कुमार शाहले १४, र त्रित राज दासले १३ रन बनाए ।
अब नेपालले भोलि शनिबार हुने खेलमा बंगलादेश एचपी ११ को सामना गर्नेछ ।
