काठमाडौं । अष्ट्रेलियामा आजबाट शुरु हुने टप इन्ड टी-२० सिरिजमा नेपालले घरेलु टोली नर्थन टेरिटोरी स्ट्राइकसँग प्रतिस्पर्धा गर्दैछ । डार्विनस्थित मर्रारा क्रिकेट मैदानमा हुने खेल नेपाली समय अनुसार दिउँसो २:१५ बजे शुरू हुनेछ ।
टप् इन्ड सिरिजमा नेपालले दोस्रोपटक सहभागिता जनाउन लागेको हो । यसअघि नेपालको राष्ट्रिय टोलीले उक्त प्रतियोगितामा सहभागिता जनाएको थियो । तर यसपटक नेपालको राष्ट्रिय टोलीले एसीसी प्रिमियर कपमा सहभागिता जनाउनुपर्ने भएकाले नेपालको ए टोलीले टप एण्ड सिरिजमा खेल्न लागेको हो ।
गत वर्ष नेपालले ६ खेल खेल्दै दुई मा जित र ४ मा हार बेहोर्दै ११ टोली सहभागी प्रतियोगितामा आठौँ स्थानमा रहेर फर्किएको थियो । तर यसपटक नेपाल सुधारिएको प्रदर्शन गर्ने लक्ष्यमा रहेको छ । नेपालको ‘ए’ टोली भएपनि सिनियर टोलीबाट खेलिसकेका खेलाडीहरु बाहुल्यता रहेको छ ।
नेपाली टोली अनिल कुमार शाहको कप्तानीमा मैदान उत्रिनेछ । नेपाली राष्ट्रिय टोलीका नियमित ओपनर कुशल भुर्तेलसँगै पवन सरार्फ, रिजन ढकाल, कुशल मल्ल, लोकेश बम, रशिद खान लगायत राष्ट्रिय टोलीबाट खेलिसकेका खेलाडी ‘ए’ टोलीमा रहेका छन् ।
गत वर्ष नेपाल नर्थन टेरिटोरीसँग ४२ रनले पराजित भएको थियो । नेपाललाई उक्त खेलको बदला लिने अवसरपनि रहेको छ ।
नेपाल ‘ए’ टोली : अनिलकुमार साह (कप्तान), मयन यादव, तृतराज दास, कुशल भुर्तेल, पवन सर्राफ, रिजन ढकाल, कुशल मल्ल, लोकेश बम, रशिद खान, शाहब आलम, आकाश चन्द, नारायण जोशी, दिनेश अधिकारी, विपिन खत्री र दीपक डुम्रे ।
