प्रज्जवल थापा । इटालियन लिग सिरी ए अन्तर्गत हुने खेलमा आज पार्माले युभेन्टलाई आफ्नो चुनौती पेश गर्दैछ । स्टेडियो टार्डिनीमा हुने खेल नेपाली समय अनुसार राति १:३० बजे शुरु हुनेछ ।
गत बुधबार भएको खेलमा एटलान्टासँग बराबरीमा रोकिएको युभेन्टस आजको खेलमा जित निकाल्ने लक्ष्य साथ मैदान उत्रिनेछ । पार्माको घरेलु मैदानमा युभेन्टस सन् २०१५ देखी अपराजित छ । लिगको पछिल्लो ५ खेलमा युभेन्टसले तीन खेलमा जित निकालेको छ । हाल साविक विजेता टोली १२ खेलमा २४ अङ्क जोड्दै तेस्रो स्थानमा छ ।
एटलान्टा विरुद्वको खेलमा रोनाल्डोले पेनाल्टीमा गोल गर्न चुकेपछी युभेन्टस बराबरीमा रोकिन बाध्य भएको थियो ।पार्मा विरुद्ध खेल्ने टोलीमा पाउलो डबेला उपलब्ध छैनन् । त्यसैले आजको खलेमापनि रोनाल्डो र मोराटाले फर्वार्ड लाइनमा शुरुवात गर्नेछन् ।
यस्तै पार्माले लिगको पछिल्लो ५ खेलमा मात्र एक खेलमा जित निकालेको छ । हाल पार्मा १२ खेलमा १२ अङ्क जोड्दै लिगको १४ औँ स्थानमा छ । दुई टोलीबिच भएको पछिल्लो १५ भेटमा ९ खेल युभेन्टसले जितेको छ भने पार्माले ३ खेल आफ्नो पोल्टामा पारेको छ । ३ खेल भने बराबरीमा सकिएको थियो ।
