प्रज्जवल थापा । नेपाल खेलकुद पत्रकार मञ्चले प्रदान गर्दै आएको पल्सर स्पोर्ट्स अवार्ड-२०७६ अन्तर्गत पिपुल्स च्वाइस अवार्डको मनोनयन सार्वजनिक भएको छ । खेलकुद पत्रकार मञ्चले शुक्रबार एक कार्यक्रम गरी मनोनयन सार्वजनिक गरेको हो ।
एनएसजेएफले सार्वजनिक गरेको मनोनयनमा फुटबलकी सावित्रा भण्डारी, भलिबलकी अरुणा शाही, पौडीकी गौरिका सिंह, बास्केटबलकी सदिना श्रेष्ठ र करातेका मन्डेकाजी श्रेष्ठ छन् । फुटबलकी सावित्रा भण्डारीले नेपाली महिला फूटबल टोलीलाई १३ औँ दक्षिण एसियाली खेलकुद(साग) मा रजत पदक दिलाउन महत्वपूर्ण भूमिका खेलेकी थिइन् ।
अरुणा शाहीले नेपाली महिला भलिबल टोलीलाई ऐतिहासिक रजत पदक दिलाएकी थिइन् । यस्तै गौरिका सिंहले पौडीमा नेपाललाई ४ स्वर्ण पदक दिलाएकी थिइन् । यस्तै बास्केटबलकी सदिनाले नेपाली महिला बास्केटबल टोलीलाई रजत पदक जिताउन मुख्य भुमिका खेलेकी थिइन् ।
करातेका मन्डे काजीले नेपाललाई दुई स्वर्ण पदक दिलाएका थिए । इसेवाबाट गरिएको भोट, फेसबुक लाइक, मञ्चका सदस्य पत्रकारको मत र राष्ट्रिय संघका मुख्य प्रशिक्षकहरुको भोटको आधारमा पुस २७ गते विजेता घोषणा गरिनेछ ।
