न्युर्योक । नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल (इञ्जा) ले कान्तिपुर राष्ट्रिय दैनिकमा आवद्ध वरिष्ठ पत्रकार बलराम बानियाँको असामयिक निधनप्रति गहिरो दुख व्यक्त उनकाे परिवारलाइ तत्कालै एक लाख रूपियाँ सहयाेग गर्ने भएकाे छ ।
वरिष्ठ पत्रकार बानियाँको कलम सदैव प्रजातन्त्रको संरक्षण र सुशासनका पक्षमा चलेको उल्लेख गर्दै इञ्जाले आफ्नो शोक विज्ञप्तिमा उनको निधनले नेपाली पत्रकारितामा अपुरणीय क्षति पुगेको बताएको छ ।
स्वर्गीय पत्रकार वानियाँको निधनको कारण अझै पनि प्रष्ट हुन नसकिरहेको अवस्थामा अनुसन्धानलाई तीब्रताका साथ अगाडि बढाउन पनि इञ्जाले माग गरेको छ ।
पत्रकारहरुका समस्यामा सदैव चासो राख्दै आएको इञ्जाले स्वर्गीय पत्रकार बानियाँको अन्त्येष्टि र काजकिरियामा परिवारलाई सहयोग पुगोस भनी तत्कालै आफ्नो आपतकालीन कोषवाट १ लाख रुपियाँ दिने निर्णय गरेको इन्जाका सचिव दीपक रिजालले जानकारी दिए ।
यस संकटको क्षणमा स्वर्गीय बानियाँको परिवारलाई सहयोग गर्न पनि इञ्जाले नेपाल सरकार, पत्रकारिता सम्वद्ध संस्थाहरु तथा शुभेच्छुकहरुलाई आह्वान गरेको छ ।
उनका श्रीमती, एक छाेरा र एक छाेरी छन् । इञ्जाले शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना पनि व्यक्त गरेको छ ।
