सरकारी सरह सेवा सुविधा माग्दै इन्टर्न चिकित्सक हरिहन आमरण अनसनमा

काठमाडौं । इन्टर्न चिकित्सकहरूको पारिश्रमिक, श्रमको सम्मान तथा कार्यदलको प्रतिवेदन कार्यान्वयनको माग गर्दै इन्टर्न चिकित्सक डिल्ली हरिजनले आमरण अनसन सुरु गरेका छन् ।

माग सम्बोधन नभएको भन्दै अभियानका संयोजक हरिजन मंगलबारदेखि काठमाडौंको माइतीघर मण्डलामा आमरण अनसनमा बसेका हुन् । सरकारको गैरजिम्मेवारीपनका कारण आफू यस्तो कठोर कदम चाल्न बाध्य भएको उनले बताएका छन् ।

उनका अनुसार सरकारी शिक्षण अस्पतालमा इन्टर्न चिकित्सकले स्वास्थ्य सेवा आठौँ तहका अधिकृतको ५० प्रतिशत बराबर निर्वाह भत्ता पाउने व्यवस्था भए पनि निजी शिक्षण अस्पतालमा २४ घण्टासम्म ड्युटी गर्दा मासिक करिब १० हजार रुपैयाँ मात्रै उपलब्ध गराइएको छ ।

अभियानले इन्टर्न चिकित्सकको कार्यसमयलाई पनि प्रमुख मुद्दाका रूपमा उठाएको छ । उनले श्रम ऐन, २०७४ अनुसार इन्टर्न चिकित्सकलाई समेत स्पष्ट रूपमा श्रमसम्बन्धी कानुनी व्यवस्था लागू गर्न सरकारसँग माग गरेका छन् ।

उनले चिकित्सा शिक्षा आयोगका अध्यक्ष प्रधानमन्त्री, सहअध्यक्ष शिक्षा तथा खेलकुद मन्त्री, सहअध्यक्ष स्वास्थ्य मन्त्री तथा आयोगका पदाधिकारीसँग पटक–पटक छलफल र अनुरोध गरिए पनि करिब १२० दिन बितिसक्दा समेत निर्णय हुन नसकेको आरोप लगाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *