धनुषामा हत्या आरोपका फरार प्रतिवादी गोली प्रहार गरी पक्राउ

जनकपुरधाम । धनुषामा कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले गोली प्रहार गरी पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार शहीदनगर नगरपालिका–२, मतौनास्थित धनी पोखरीमा छठ पर्वका लागि पूजासामग्रीको रेखदेख गर्न बसेका करिब ६० वर्षीय रामजतन यादवको हत्या आरोपमा फरार रहेका करिब ३० वर्षीय जयकुमार यादव पक्राउ परेका हुन्।

प्रहरीका अनुसार गत कात्तिक २९ गते राति छठघाट निर्माण गरी पूजासामग्रीको रेखदेख गर्न पोखरीमा एक्लै बसेका रामजतन यादव कात्तिक ३० गते बिहान करिब ६ बजे मृत अवस्थामा फेला परेका थिए। घटनास्थलबाट रगतजस्तो पदार्थको दाग तथा कपालजस्तो वस्तु लागेको देखिने धारिलो हतियारसमेत बरामद भएको थियो।

घटनाको अनुसन्धानका क्रममा शहीदनगर नगरपालिका–२ निवासी बालक दास भन्ने जयकुमार यादवले पुरानो रिसइबीका कारण कुटी काट्ने कर्साले अनुहारमा प्रहार गरी रामजतनको हत्या गरेको र त्यसपछि भारततर्फ फरार भएको खुलेको प्रहरीले जनाएको छ।

फरार प्रतिवादीको खोजीमा खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा मंसिर १२ गते साँझ करिब ६ बजे नगराइन नगरपालिका–२, जटहीबाट राघोपुर जाने बाटोस्थित नेपाल–भारत सीमाक्षेत्रमा उनलाई फेला पारेको थियो।

प्रहरीका अनुसार पक्राउ गर्न खोज्दा जयकुमार भारततर्फ भाग्न खोजेपछि आत्मसमर्पण गर्न चेतावनी दिइएको थियो। तर, उनले नमानेपछि प्रहरीले सुरुमा एक राउण्ड हवाई फायर गरेको र त्यसपछि थप चार राउण्ड गोली प्रहार गरी नियन्त्रणमा लिएको जनाएको छ।

गोली लागेर प्रतिवादीको बायाँ तिघ्रामा एक र दाहिने घुँडामुनि दुई गरी तीन स्थानमा चोट लागेको छ। उनको हाल प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको र स्वास्थ्य अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *