काठमाडौँ । प्रधानमन्त्री बालेन साह र प्रधानसेनापति अशोक सिग्देलबीच भेटवार्ता भएको छ । मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री साह र प्रधानसेनापति सिग्देलबीच भेटवार्ता भएको हो ।
गोकर्णेश्वरमा सडक विस्तार गर्ने क्रममा सैनिक अधिकारसँग रास्वपाका सांसद राजु पाण्डेले विवाद गरेको भोलिपल्ट प्रधानसेनापति प्रधानमन्त्रीलाई भेट्न पुगेका हुन् ।
सांसद पाण्डेले ब्यारेकको कुरा आफूले बुझ्ने भन्दै जंगलभित्रको बाटो नेपाल ट्रस्टसँग सम्बन्धित विषय भएको र त्यसको अध्यक्ष भौतिक पूर्वाधार मन्त्री रहेको भन्दै त्यो नरोकिने बताएका थिए । भेटमा यो विषयमा पनि कुराकानी भएको बताइएको छ ।
सोमबार सांसद पाण्डेले सेनालाई धम्कीपूर्ण भाषा प्रयोग गर्दै पर्खाल भत्काउने चेतावनी दिएका थिए । सैनिक प्रवक्ता राजाराम बस्नेतले प्रधानमन्त्रीले रक्षामन्त्रीको समेत जिम्मेवारी सम्हालेकाले नियमित भेट भएको बताए ।
त्यस्तै भेटमा मधेश प्रदेशमा देखिएको तनावका विषयमा पनि उनीहरुबीच कुराकानी भएको बताइएको छ ।
