काठमाडौँ । भारतको राजधानीस्थित दिल्ली प्रदेश सरकारका मुख्यमन्त्री रेखा गुप्ताले आराध्य देव भगवान् श्री पशुपतिनाथको दर्शन गर्ने इच्छा व्यक्त गरेकी छिन् ।
पाल्पा निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित सांसद सन्दीप राना नेतृत्वको समूहसँग भएको भेटका अवसरमा उनले आफू छिट्टै नै पशुपतिनाथको पूजा, आराधना एवं दर्शनका लागि नेपाल आउने जानकारी गराएकी हुन् ।
पशुपतिनाथका कारण नेपाल भारतबीच सदियौँदेखि धार्मिक, सांस्कृतिक सम्बन्ध प्रगाढ रहँदै आएको मुख्यमन्त्री गुप्ताले बताइन् ।
भेटका क्रममा दुवै देशको विकासमा युवाको सहकार्य, दुई देशबीचको आपसी सम्बन्ध विस्तारलगायत विषयमा कुराकानी भएको सांसद रानाले जानकारी दिए ।
भारतस्थित नेपाली काँग्रेस निकटको जन सम्पर्क समितिको कार्यक्रममा गएका बेला सांसद राना नेतृत्वको समूहले दिल्ली प्रदेश सरकारका मुख्यमन्त्री गुप्तालाई भेटेको हो । सो समूहमा काँग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन, लुम्बिनी प्रदेशसभा सदस्य निमा गिरी, काँग्रेस नेत्री सुनिता कुँवर, काँग्रेसका युवा नेताद्वय सुशान्त आचार्य र जीवन तिवारीलगायत छन ।
