प्रज्जवल थापा । इटालियन लिग सिरी ए च्याम्पियन इन्टर मिलानलाई युभेन्टसले हराएको छ । गएराति घरेलु मैदानमा भएको खेलमा युभेन्टसले इन्टरलाई ३-२ गोल अन्तरले हराउदै च्याम्पियन्स लिग खेल्ने सम्भावना जिवित राखेको हो ।
एल्लिनाज रंगशालामा भएको खेलमा युभेन्टसलाई जित दिलाउन जुएन कौड्राडोले दुई र क्रिस्टियानो रोनाल्डोले एक गोल गरे । इन्टरको लागि रोमेलु लुकाकुले एक गोल गर्दा एक गोल उपहार पाएको हो । पहिलो हाफको २४ औं मिनेटमा रोनाल्डोले गोल गर्दै युभेन्टसलाई शुरुवाती अग्रता दिलाएका थिए । विपक्षी खेलाडीले चिएलिनीलाई पेनाल्टी क्षेत्रमा लडाएपछि पाएको पेनाल्टीमा रोनाल्डोले गरेको प्रहार हन्डानोभिकले रोकेपनि रिवाउन्डमा रोनाल्डोले गोल गरेका थिए ।

३५ औं मिनेटमा लुकाकुले गोल गर्दै इन्टरलाई बराबरी ल्याए । डि लाइटले मार्टिनेजलाई पेनाल्टी क्षेत्रमा लडाएपछि इन्टरले पेनाल्टी पाएको थियो । पहिलो हाफको अतिरिक्त समयमा कौड्राडोले गोल गर्दै युभेन्टसलाई २-१ गोलको अग्रता दिलाएका थिए । ५५ औं मिनेटमा बेन्टान्चुर दुई पहेलो कार्ड खाँदै मैदान बाहिरिएपछि युभेन्टस बाँकी समय १० खेलाडीमा रहेर खेलेको थियो ।
८३ औं मिनेटमा चिएलीनीले आत्मघाती गोल गरेपछि इन्टरले खेलमा २-२ गोलको बराबरी गरेको थियो । तर ८८ औं मिनेटमा कौड्राडोले पेनाल्टीमा गोल गर्दै युभेन्टसलाई ३-२ गोलको जित दिलाए ।
जितसँगै युभेन्टस ३७ खेलबाट ७५ अङ्क जोड्दै लिगको चौथो स्थानमा उक्लिएको छ । पराजित इन्टर ३७ खेलबाट ८८ अङ्क जोड्दै शिर्ष स्थानमा यथावत छ ।
