दुई लाख विद्यार्थीको नक्कली विवरणमाथि छानबिन गर्न समिति गठन

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले करिब दुई लाख विद्यार्थीको फर्जी विवरण तयार गरी राज्यकोषबाट आर्थिक अपचलन भएको विषय अनुगमनका क्रममा पहिचान भएको बताएका छन्।

सामुदायिक विद्यालयमा दिवा खाजा, छात्रवृत्ति, पाठ्यपुस्तक, पोसाक तथा प्रतिविद्यार्थी लागत (पीसीजी) अनुदानका नाममा जाने रकम दुरुपयोग भएको आशंका गरिएको हो।

एकीकृत शैक्षिक सूचना व्यवस्थापन प्रणाली (आईईएमआईएस) मा वास्तविक विद्यार्थी संख्याभन्दा फरक र दोहोरो विवरण राखेर बजेट हिनामिना गर्न खोजिएको मन्त्री पोखरेलले बताएका छन्।

यस विषयमा छानबिन गर्न सरकारले सहसचिव शिवकुमार सापकोटाको संयोजकत्वमा पाँच सदस्यीय अध्ययन तथा अनुगमन समिति गठन गरेको छ। मन्त्रीस्तरीय निर्णयबाट बिहीबार गठन गरिएको समितिलाई १५ दिनभित्र यथार्थ विवरणसहित कारबाहीको सिफारिस गर्न समय दिइएको छ।

समितिले आईईएमआईएसमा रहेका दोहोरो तथा फर्जी विवरणको छानबिन गर्नुका साथै शंकास्पद विद्यालयमा पुगेर स्थलगत अनुगमन गर्नेछ।
मन्त्री पोखरेलले गलत विवरण प्रविष्ट गरी राज्यकोषको रकम दुरुपयोग गर्ने वा त्यसमा सहयोग गर्ने प्रधानाध्यापक, आईईएमआईएस फोकल पर्सन तथा जिम्मेवार कर्मचारीलाई कानुनबमोजिम कारबाही गरिने चेतावनी दिएका छन्।

उनले वास्तविक विद्यार्थीको अधिकार खोसिन नदिने र फर्जी विवरणका आधारमा हुने आर्थिक अपचलनमा संलग्न कसैलाई पनि उन्मुक्ति नदिने बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *