लन्डन । इङलिस प्रिमियर लिग क्लब लेस्टर सिटी र टोटनह्याम हट्स्परले युरोपा लिग खेल्ने भएका छन् ।
ती दुवै क्लबले इंग्लिस प्रिमियर लिगको पाँचौ र छैटौं स्थानमा रहेर युरोपा लिगमा छनोट हुन सफल भएको हो । दुवै टोलीले युरोपा लिगका लागि इंग्लिस प्रिमियर लिगबाट छुट्टाइएका तीन मध्ये दुई स्थानमा आफ्नो नाम सुरक्षित गर्न सफल भएका छन् ।
लिग अन्तर्गत आइतबार राती भएको अन्तिम चरणको खेलमा म्यानचेस्टर युनाइटेडसँग २(० गोलले पराजित भएपछि तालिकामा पाँचौ स्थानमा रहेको लेस्टर सिटीको च्याम्पियन्स लिग खेल्ने सम्भावना समाप्त भएपनि युरोपा लिग खेल्ने बाटो भने खुलेको हो ।
तालिकामा चौथो स्थानको चेल्सी फुटबल क्लब र तेस्रो स्थानको म्यान्चेस्टर युनाइटेड भन्दा चार अंक पछि रहेको लेस्टर सिटिले ६२ अंकका साथ लिग टुंगाएको छ।
त्यस्तै, गए राती नै भएको अर्को खेलमा चेल्सीले वुल्भ्सलाई पराजित गर्दा टोटनह्याम हट्स्परले भने क्रिस्टल प्यालेससँग बराबरी नतिजा निकाल्दै तालिकामा छैटौं स्थानमा रहेर अर्को सिजनको युरोपा लिगमा आफ्नो स्थान सुरक्षित गर्यो ।
यता आफ्नो अन्तिम खेलमा चेल्सीसँग पराजित हुँदै लिगको सातौं स्थानमा रहेको वुल्भ्सको युरोपा लिग खेल्ने सपना अझै मरिसकेको छैन । अगस्ट १ मा हुने एफए कपको फाइनलमा यदि चेल्सीले आर्सेनललाई पराजित गरेमा वुल्भ्सले अर्को सिजनको युरोपा लिग खेल्नेछ । तर यदि आठौं स्थानमा लिग टुंगाएको आर्सेनलले एफए कप जितेमा भने अर्को सिजनको युरोपा लिग आर्सेनलले नै खेल्नेछ ।
लेस्टर र टोटनह्यामले युरोपा लिग खेल्ने
