कायरो । इजिप्टको कायरोस्थित नेपाली दूतावास र नेसनल सेन्टर फर चिल्ड्रेन्स कल्चरको सहकार्यमा ‘नेपाल इन द आइज अफ इजिप्ट्स चिल्ड्रेन’ शीर्षकको चौथो कला प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।
नोभेम्बर १८ मा कायरोको सायदा जैनबस्थित चिल्ड्रेन्स पार्कमा आयोजित कार्यक्रममा कायरो र गिजा प्रान्तका ११५ विद्यालयका ७०० भन्दा बढी विद्यार्थी सहभागी भएका थिए ।
नेपाल र इजिप्टबीच सांस्कृतिक तथा जनस्तरको सम्बन्ध थप सुदृढ बनाउने उद्देश्यले आयोजित प्रतियोगितामा इजिप्टका बालबालिकाले नेपालको समृद्ध संस्कृति, सम्पदा र परम्परालाई चित्रकलामार्फत प्रस्तुत गरेका थिए ।
कार्यक्रममा नेपालको सांस्कृतिक सम्पदा झल्काउने प्रदर्शनीका साथै नेपाली परम्परागत संगीतमा आधारित नृत्य प्रस्तुतिसमेत गरिएको थियो ।
समापन समारोहमा इजिप्टका लागि नेपाली राजदूत सुशील लाम्साल, नेसनल सेन्टर फर चिल्ड्रेन्स कल्चरका अध्यक्ष मोहम्मद अब्देलहाफेज नासेफ तथा नेसन अफ द फ्युचर पार्टीका संस्कृति तथा कला मामिला सचिव मुहम्मद हाफेज एल–रहाउनले सम्बोधन गरेका थिए ।
उनीहरूले नेपाल र इजिप्टबीच मित्रता, आपसी समझदारी तथा सांस्कृतिक सम्बन्ध विस्तारमा यस्ता कार्यक्रमको महत्त्व रहेको उल्लेख गरे ।
कार्यक्रमको अन्त्यमा प्रतियोगिताका विजेताहरूलाई पुरस्कार प्रदान गर्नुका साथै सहभागी संस्थाबीच स्मृति चिन्ह आदानप्रदान गरिएको थियो ।

