पोर्चुगललाई घानाको चुनौती

एजेन्सी । कतारमा जारी फिफा विश्वकप अन्तर्गत आज हुने समूह ‘एच’को खेलमा पोर्चुगलले घानाको चुनौती सामना गर्दैछ । रास अबु अबोउद स्टेडियममा हुने खेल नेपाली समय राति अनुसार ९:४५ बजे शुरु हुनेछ ।

पोर्चुगल आजको खेलमा घानालाई हराउँदै विश्वकपमा सुखद शुरुवात गर्ने लक्ष्यमा रहेको छ । हालसम्म फाइनल पुग्न नसकेको पोर्चुगल यसपटक उपाधि जित्ने लक्ष्यसहित कतार पुगेको हो । हालसम्मको पोर्चुगलको विश्वकपमा सबैभन्दा उत्कृष्ट नतिजा सन् १९६६ र २००६ मा सेमिफाइनल खेल्नु हो । लगातार विश्वकपमा सहभागिता जनाउँदै आएपनि पोर्चुगल पछिल्लो ५ संस्करण मध्य चारपटक अन्तिम १६ बाटै बाहिरिएको छ ।

चार वर्ष अगाडि अन्तिम १६ मा उरुग्वेसँग पराजीत हुँदै बाहिरिएको पोर्चुगलले विश्वकपको पछिल्लो ११ खेलमा मात्र ३ जीत निकालेको छ । पोर्चुगलले खेलेको विश्वकपको पछिल्लो पहिलो तीन खेलमा जीत निकाल्न सकेको छैन ।

आजको खेलमा सबैको नजर सुपरस्टार खेलाडी क्रिस्टियानो रोनाल्डोमा हुनेछ । एक अन्तरवार्तामा आफ्नो क्लब म्यानचेस्टर युनाइटेडको विरुद्धमा बोलेपछि उनी लगातार समाचारको पात्र बन्दै आएको थिए । तर मंगलबार युनाइटेडले विज्ञप्ति जारी गर्दै दुवैको आपसी सहमतिमा सम्झौता रद्द गरेको जनाएको थियो । त्यसैले रोनाल्डो हाल क्लबविहिन रहेका छन् । तर सम्भवत अन्तिम विश्वकप खेल्ने तयारीमा रहेका रोनाल्डो सबै कुरालाई पछाडी छोड्दै यस विश्वकपलाई स्मरणीय बनाउन चाहन्छन् ।

यता रसियामा भएको पछिल्लो संस्करण गुमाएको घाना बदला लिने लक्ष्यसहित कतार पुगेको हो । १२ वर्ष अगाडि भएको विश्वकपमा उरुग्वेसँग पराजीत हुँदै घाना प्रतियोगिताबाट बाहिरिएको थियो । डिसेम्बर २ मा उरुग्वेसँग भिड्नु अघि घाना आज पोर्चुगलमाथि सुखद नतिजाको अपेक्षामा रहेको छ । पछिल्लो ९ खेलमा मात्र दुई हार बेहोरेको घाना आजपनि सोहि लयलाई निरन्तरता दिन चाहन्छ ।

यसअघि सन् २०१४ को विश्वकपमा दुई टोली आमनेसामने भएका थिए । उक्त खेलमा रोनाल्डोले अन्तिम समयमा गोल गरेपछि पोर्चुगल २-१ गोलले विजयी भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *